काठमाडौँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी मनहरा–७ शान्तिद्वीपस्थित भोलाराज गौतमको घरमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दै गरेको अवस्थामा भारतीय नागरिक विवेक शुक्ला र सिन्धुलीका लालबहादुर मगरातीलाई सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुसँग ३२ पोर्टको भिओआइपी गेटवे एक थान, कालो १६ पोर्टको भिओआइपी गेटवे एक थान, निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, चार्जर एक थान, राउटर तीन थान, मोबाइल सेट चार थान र झोला दुई थान बरामद गरेको छ ।
ब्यूरोले हालसम्म अवैध कल बाइपास गर्ने १५८ स्वदेशी तथा विदेशीलाई पक्राउ गरिसकेको र २२ हजार ७१३ थान सिमकार्ड बरामद गरेको छ । पक्राउ परेका दुईजनालाई दुरसञ्चार ऐन, २०५३ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
रासस































प्रतिक्रिया