भुटानी शरणार्थी नेता टेकनाथ रिजालले शरणार्थी समस्या तत्काल समाधानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेख्नु भएको छ ।
नेता रिजालले भुटानी शरणार्थी समस्या झनै जटिल अवस्थामा पुगेकाले तत्काल समाधानका लागि पहल गर्न अपिल गर्दैै दुवै देशका प्रधानमन्त्रीलाई खुला पत्र लेख्नु भएको हो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको अवसर पारेर खुला पत्र लेख्नु परेको बताउनु भयो । नेता रिजालले भुटानी शरणार्थी समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीको धारणा बुझिदिन संचारकर्मीहरुसँग पनि पटक–पटक आग्रह गर्नु भयो । उहाँले भुटानी शरणार्थी समस्या समाधानका लागि भुटान, नेपाल र भारतको उच्चस्तरीय छानवीन समिति बनाउनुपर्ने माग पनि गर्नु भएको छ । शरणार्थी समस्याको जरो पत्ता लगाउन र समाधान गर्न पनि ३ वटै मुलुकले उच्चस्तरीय छानवीन समिति बनाउनुपर्ने नेता रिजालको माग छ । भारतीय प्रधानमन्त्री मोदी आगामी बैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । सोही अवसरमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भुटानी शरणार्थी समस्या समाधानका विषयमा ठोस वार्ता गराउने वातावरण बनाउन नेता रिजालले आईतबार पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानमन्त्रीलाई खुला पत्र लेखिएको जानकारी गराउनु भएको हो ।
नेता रिजालले तेस्रो देशको पुनर्वास रोकिएपछि भुटानी शरणार्थीहरुको अवस्था झनै कष्टकर बन्न पुगेको पनि स्पष्ट पार्नु भयो । उहाँले भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल र भारत दुवै मुलुकले चासो नदिएको गुनासो पनि गर्नु भयो । नेता रिजालले नेपालका प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा पनि शरणार्थी समस्याका विषयमा औपचारिक वार्तासमेत नभएकोमा आपत्ति जनाउनु भयो ।
नेता रिजालले प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीलाई लेख्नु भएको खुलापत्रमा भुटानका नागरिकले ससम्मान आफ्नो देश फर्कन पाउनुपर्नेमा जोड दिइएको छ । खुला पत्रमा तेस्रो देश पुनर्वासले निम्त्याएको परिवार वियोग हटाउन परिवार मिलन वातावरण सृजना गराउन पनि नेपाल सरकारसँग माग गरिएको छ ।































प्रतिक्रिया