कर्णालीमाथि पोखराको सानदार जित, प्लेअफ सम्भावना कायमै

कर्णालीमाथि पोखराको सानदार जित, प्लेअफ सम्भावना कायमै

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । पोखरा एभेन्जर्सले जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्समाथि सानदार जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखराले कर्णालीलाई ३४ रनले स्तब्ध पारेको हो ।

पोखराले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली १९ ओभरमा अलआउट भयो । कर्णाली याक्सको इनिङ्स मार्क वाटको विस्फोटक ब्याटिङले उकासेको थियो। उनले मात्र ३४ बलमा ५९ रन बनाए, जसमा ५ छक्का र ४ चौका समावेश थिए। उनको स्ट्राइक रेट १७३.५२ रह्यो। यद्यपि, अन्य ब्याट्सम्यानहरूले ठूलो स्कोर गर्न नसक्दा टोलीले आशा गरिए अनुसार २०० को आँकडा भने पार गर्न सकेन।

कर्णाली यक्सलाई सस्तैमा समेट्न पोखरा एभेन्जर्सका बलरहरू सफल रहे। धनन्जय र ऋषि धवनले उत्कृष्ट प्रदर्शन गर्दै समान ३ विकेट लिए।

त्यसअघि कर्णाली याक्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २०१ रन बनाएको थियाे । पोखराको इनिङ्समा विदेशी खेलाडी एडम रोसिङ्टन हिरो बने। उनले मात्र ५८ बलमा ११ चौका र ६ छक्कासहित १०८ रनको शतकीय इनिङ्स खेलेर नटआउट रहे।

उनी एनपीएलकाे दोस्रो संस्करणमा शतक प्रहार गर्ने दोस्रा खेलाडी हुन् । यसअघि कर्णालीकै खेलाडी मार्क वाटले जारी प्रतियोगितामा शतक हिर्काएका थिए । लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका वाटले ४१ बलमै शतक पूरा गरेका थिए । उनी एनपीएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर पनि हुन् ।

एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन्।

प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए। यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए।

आजकाे खेलमा १८ रन बनाएर आउट भएका कप्तान कुशल भुर्तेलसँग ३४ रनको सामान्य साझेदारीपछि रोसिङ्टनले पूर्व इंग्लिस ब्याटर जेसन रोयसँग दोस्रो विकेटका लागि विशाल साझेदारी गरे। जेसन रोयले ३४ बलमा ३ छक्कासहित ४६ रन बनाए। उनीहरुले दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई ठूलो योगफलतर्फ लगे।

इनिङ्सको अन्त्यतिर धनञ्जय लक्षणले केवल ११ बलमा २३ रनको विस्फोटक पारी खेले। कर्णाली याक्सका बलरहरूले यो खेलमा निकै संघर्ष गर्नुपर्‍यो। नन्दन यादव र मार्क वाटले मात्र १-१ विकेट लिन सफल भए।

Skip This
Skip This
Logo