निर्मल पौडेल ,काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अपाङ्गता भएका व्यक्तिमाथि विद्यमान सबै प्रकारका सामाजिक विभेदको अन्त्य, उनीहरूको उपचार, जीविकोपार्जनको सुनिश्चितता र सम्मानजनक जीवनयापनका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य रहेको बताएका छन्।
चौँतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर ३) का अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक सम्मान र शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “अपाङ्गता भएका नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको मूल प्रवाहमा जोड्नु हामी सबैको साझा दायित्व हो।”
उनले समावेशी विकास, पहुँचयोग्य भौतिक पूर्वाधार, निःशुल्क र गुणस्तरीय उपचार, समान शिक्षा तथा रोजगारीका अवसरहरू सुनिश्चित गर्दै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
“अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनु आजको आवश्यकता हो”, अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ, “सबै मिलेर यो अभियानलाई सार्थक बनाऔँ, कोही पनि पछाडि नपरोस्, सबैको साथ–साथ अगाडि बढौँ।”
अन्तमा उनले अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष र योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उनीहरूको अधिकार र सम्मानको लडाइँमा सधैँ साथ रहने प्रतिबद्धता जनाएका छन्।































प्रतिक्रिया