काठमाडौँ
सफल सामुदायिक विद्यालय मानिएको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा यस वर्ष शैक्षिक सत्र सुरु भएपछि कक्षा १ मा जम्मा ३० जना विद्यार्थी मात्र भर्ना भएका छन् तर कक्षा ९ मा ७५ जना भर्ना भएका छन् । बाँकी कक्षामा पनि थोरै संख्यामा मात्र विद्यार्थी भर्ना भएका छन् ।
यो विद्यालयमा बर्सेनि पूर्वप्राथमिक र आधारभूत कक्षा (१–८) को तुलनामा कक्षा ९ मा भर्ना हुने विद्यार्थी संख्या धेरै हुन्छ । यसरी कक्षा ९ मा भर्ना हुने विद्यार्थी मध्ये अधिकांश निजी विद्यालयबाट आउँछन् । विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययनमा राज्यले दिने छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले गर्दा आधारभूत तह निजीमा पढेर कक्षा ९ मा सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेको छ ।’
थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा पनि कक्षा १ मा ८ जना मात्र नयाँ विद्यार्थी भर्ना भएका छन् तर कक्षा ९ मा भने २२ जना नयाँ विद्यार्थी भर्ना भइसकेका छन् । कक्षा ९ मा भर्ना हुने क्रम रोकिएको छैन । सामुदायिकबाट एसईई उत्तीर्ण गरे उच्च शिक्षा अध्ययनमा सरकारी सेवासुविधा र छात्रवृत्ति लिने अभिप्रायले यस्ता विद्यार्थीका अभिभावकले निजीबाट सामुदायिकमा भर्ना गराउँछन् ।
सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले कक्षा ११ देखि स्नातकोत्तर तह सम्मको अध्ययनको छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउँछन् । निजीमा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउँदैनन् । शिक्षा मन्त्रालय उच्च शिक्षा तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमका अनुसार एमबीबीएस, इन्जिनियरिङ, वन विज्ञान, डेन्टल, कृषि, भेटरिनरी लगायत सबै विषयमा छात्रवृत्तिमा अध्ययन गर्न सामुदायिक विद्यालयबाट नै विद्यालय तह उत्तीर्ण गरेको हुनुपर्छ ।
नियम अनुसार कक्षा ११ र १२ अध्यापन गराउने निजी विद्यालयले कुल भर्ना भएका विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्तिमा पढाउनु पर्छ । यस्तो छात्रवृत्ति पनि सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले मात्र पाउँछन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया