माटोबिना नै तरकारी खेती गरेर मालामाल

माटोबिना नै तरकारी खेती गरेर मालामाल

केन्द्रबिन्दु
0
Shares

 यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । 

स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाएका छन् । पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । 

“रोजगारीको सिलसिलामा कोरियामै रहँदा आक्वापोनिक (माटोरहित तरकारी फलाउने) प्रविधिका बारेमा जान्ने बुझ्ने मौका पाएँ” थापाले भने, “कार्यान्वयनका क्रममा नबुझेका कुरा युट्युबको माध्यमबाट ज्ञान लिएर तरकारी खेतीको थालनी गरेको हुँ ।” 

आक्वापोनिक प्रविधिबाट उनले गोलभेँडा, प्याज, काँक्रा, खुर्सानी, साग तथा स्टाबेरीको खेती गरेका छन् । “आक्वापोनिक प्रविधि विदेशमा निकै प्रयोगमा रहेपनि स्वदेशमा भने यो प्रविधि निकै नौलो रहेको छ”, थापाले भने, “यो प्रविधिको अवलोकन गर्न आउने कतिपयले त माटोबिना पनि तरकारी खेती हुन्छ र ? भनेर आश्चर्य पनि मान्नुहुन्छ ।” 

आक्वापोनिक प्रविधिको प्रयोगले खेती गर्दा परिश्रम कम लाग्ने, खनजोत तथा गोडमेल गर्न नपर्ने भएकाले पनि यो फाइदाजनक छ । “यो प्रविधि अस्थायी र स्थायी दुई तरिकाले गर्न सकिन्छ, मैले झण्डै रु १० लाखको लगानीमा स्थायी किसिमले गरेको छु”, थापाले भने “यो लगानीले मैले करीब ४५/५० वर्षसम्म उपयोग गर्न सक्छु ।” 

यो प्रविधिबाट तरकारी खेती गर्नका लागि मोटर, बायो फिल्टर, पाइप, थर्मकुल, ग्लास टनेललगायतका सामग्री आवश्यक पर्छन् भने थापाले पाइप, गिटी र थर्मकुल गरी तीन तरिकाबाट खेती गर्नुभएको छ । “आक्वापोनिक प्रविधिका लागि माछा राख्न ट्याङ्की वा पोखरीको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो, “ट्याङ्की/पोखरीको माछाले गरेको दिशा केही दिनमा नाइट्रोअक्साइड भएर त्यसबाट नाइट्रेड प्राप्त हुने र बिरुवालाई चाहिने तत्व बायो फिल्टर हुँदै पाइपको माध्यमबाट बिरुवामा पठाउने गरिन्छ ।” 

थापाले थालनी गरेको यो प्रविधिको अध्ययन अवलोकनका लागि धेरै ठाउँबाट मानिस आउने गरेका छन् । जग्गा जमिनको कमी भए पनि अत्याधुनिक तवरबाट थोरै ठाउँबाट पनि धेरै उत्पादन लिन सकिने उहाँकोे दाबी छ । रासस

Skip This
Skip This
Logo