नविना लामाको गहना प्रकरण: के कम्युनिष्टले सबै संस्कार त्याग्नुपर्ने हो ?

नविना लामाको गहना प्रकरण: के कम्युनिष्टले सबै संस्कार त्याग्नुपर्ने हो ?

केन्द्रबिन्दु
0
Shares

सामाजिक संजालमा अचम्मका कुरौटे जमातहरु भेटिन्छन अचेल । फेसबुकमा बहस हुनको लागि या कुनै मान्छेको क्रियाकलाप माथि छलफल चलाएर आलोचना हुनको लागि कुनै ठूलो बहाना या बिषयबस्तु नै चाहिदैन अचेल ।

प्रसङ्ग एमालेकी नेतृ नबिना लामाको बिवाहमा लगाइएको गहनाको हो  । यौटी नारीले उनको जीवनकै अनुपम समयमा रहर, परम्परा या अन्य कुनै कारणले लगाएको गहनाको बिषयलाई लिएर सामाजिक  संजालमा यति धेरै पोस्टहरु आए कि मानौं नेपाली युवाहरु अथवा नेपाली सामाजीक संजालका प्रयोगकर्ताहरु यही समय पर्खेर बसेका थिए ।

म पनि नारी हुँ, गहना र नारी भावना एक आपसमा छुट्टिन नसक्ने गरि जोडिएका छन् नेपालको परिवेशमा । अझ कतिपय परम्पराहरुले नारीले चाहदैमा पनि गहनासंगको आफ्नो सम्बन्ध सोझै त्याग्न सक्ने अवस्था रहेको समेत देखिदैन ।

नविना लामाका बारेमा गरिएका पोष्टहरु हेर्दा यस्तो लाग्थ्यो मानौं गहना लगाएर उनले ठूलो अपराध गरेकी हुन् अथवा ती गहना जम्मा पार्न उनले ठूला ठूला भ्रष्टाचारहरु गरेकी हुन् । अधिकांस व्यक्तिहरु उनको चर्को बिरोध गर्नमा आफ्नो समय खर्च गरिरहेका थिए ।

नबिना लामा कम्युनिष्ट नेता भन्दा पहिले यौटी नारी हुन । नारी हुनुसंगै उनको नारी भावनालाई समर्थन  गर्ने उनको आफ्नो सामाजिक परम्परा पनि उनको जिन्दगीमा अवस्थित छ । जतिसुकै कट्टर कम्युनिष्ट नेता भएपनि आफ्नो सामाजिक मूल्य मान्यताहरुलाई तुरुन्तै त्याग्न सक्ने अवस्थामा नविना लामा मात्र होइन नेपालका कुनै पनि नेताहरु छैनन् ।

डाक्टर बाबुराम भट्टराई बाबु आमालाई लिएर तीर्थाटन गरिरहेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) योग बाबा रामदेवसंग आशिर्वाद ग्रहण गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली सिलान्यासका कार्यक्रमहरुमा पुजाआँजामा ब्यस्त रहेका छन् । को छ र त्यति साह्रो नास्तिक कम्युनिष्ट नेपालमा ? आखिर किन केदो खनिनु आवस्यक थियो र नविना लामाको बिहेको ? मैले जवाफ खोज्दै गरेको प्रश्न यहि हो ।

लामो समयदेखि प्रेममा रहेकी नबिनाले पक्कै पनि आफ्नो बिवाहका सपना बुनेर एक बेहुलीले लाउनुपर्ने आवश्यक गहना जोड्दै थिइन होला । आलोचकले त्यस बारेमा किन नसोच्ने ? पटक पटक क्युनिस्ट नेताहरुले सुन उपहार दिएछन अथवा संसद सदस्यको त्यति तलव हुदैन त्यसैले भ्रष्टाचार गरेकी हुन सक्छिन । जस्ता लान्छना लगाउनु अगाडि कसैले उनको जोसंग बिहे भयो उसको त्यति गहना जम्मा परेर आफ्नो परम्परागत बिहे गर्ने हैसियत थियो कि थिएन भनेर बुझ्ने प्रयास गर्यो त ?

म नाबिनालाई चिन्दिन । उहाको र मेरो पृष्ठभुमि पनि फरक छ। उहाँ देशको उच्च तह संसद जस्तो स्थानमा विराजमान हुनुहुन्छ त्यसको बिपरित म मजदुर हुँ । उनी नेता र म मजदुर नै भए पनि उनी भित्र रहेको र मभित्र रहेको नारी मन उस्तै छ । त्यसैले होला सायद उनको बिवाहमा प्रयोग भएका गहनाको बिषयलाई लिएर समाजिक सन्जालमा गरिएका टिप्पणीहरुले मलाई दुखी बनायो ।

अरुको चियोचर्चो र अरुको आलोचनामा रमाउन अभ्यस्त हाम्रो समाज र हामी त्यो समाजका सामाजिक प्राणिहरु अझै कति पिछडिएका रहेछौं भन्ने कुरा नविना लामा प्रतिको आलोचनाले प्रष्ट पारेको छ ।

आफुले आफैलाई मुल्यांकन गर्न सक्दैन मान्छे अरुको मुल्यांकन गर्न साह्रै सजिलो हुन्छ । समग्रमा हामी  फुर्सदिला मान्छे हौँ । जो सजिला र जवाफ दिन नपर्ने सस्ता आलोचनाहरुमा रमाउछौँ । हामीलाई धरहरा ढलेको आजसम्म यतिका बर्ष बितिसक्दा पनि बन्न नसकेको बिषयमा कलम चलाउने फुर्सद छैन । अल्छी भएर सुतेका नेताहरुलाई झक्झक्याउन कुनै जाँगर चल्दैन तर यौटी नारीले लगाएको गहनाको ट्रोल बनाउने गजपको फुर्सद भने निस्किरहन्छ ।

नाबिना लामाले बिहेमा प्रयोग गरेका गहनाहरुका आकार प्रकार या त्यसको लागत उनको निजि जिन्दगि संग जोडिएको पाटो हो । त्यो बिषयमा चर्को आलोचना हुनु या कुनै आलोचनामा समर्थनको लागि बाझाबाझ गर्नु सम्पूर्णतया फुर्सदिला व्यक्तिहरुको काम हो जो समाजमा विद्यमान रहेको परम्परालाई बुझ्न सक्दैनन् त्यसमाथि नारी भावनालाई बुझ्न सक्नु उनीहरुको लागि असम्भव जस्तै हुन्छ ।

Logo