कीर्तिपुर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा लुम्बिनी लायन्सको कसिलो र घातक बलिङसामु काठमाडौं गोर्खाजको ब्याटिङ ध्वस्त भएको छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको दिन-रातको यस खेलमा टस हारेर लुम्बिनी लायन्सले पहिला बलिङकाे निम्ताे पाएकाे थियो। तर लुम्बिनीका बलरहरूले काठमाडौं गोर्खाजका ब्याट्सम्यानहरूलाई मैदानमा टिक्न दिएनन्।
काठमाडौंले १४ ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनाएको छ। जन सिम्पसनले १८ रन र मोहम्मद आदिल आलमले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। आलमले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै केही आक्रामक इनिङ्स खेले पनि त्यो टिमलाई ठूलो राहत दिन पर्याप्त भएन।
लुम्बिनी लायन्सका बलरहरूले सामूहिक प्रदर्शन गर्दै काठमाडौंलाई सस्तैमा समेट्न सफल भए । विशेषगरी, शेर मल्ल र कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे।
शेर मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। यसैगरी रोहित पौडेलले पनि ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। यता रुबेन ट्रम्पेलम्यानले २ ओभरमा एक मेडनसहित मात्र २ रन दिँदै २ महत्त्वपूर्ण विकेट लिए।
एलिमिनेटर खेल भएकाले आज पराजित हुने टोलीको एनपीएल यात्रा समाप्त हुनेछ, भने विजेता टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर-२ मा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं गोर्खाजले बाँकी ओभरहरूमा कति रन जोड्छ र लुम्बिनी लायन्सको ब्याटिङ प्रदर्शन कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ।





























प्रतिक्रिया