ईश्वर पोखरेललाई ओलीको जवाफ- पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन

ईश्वर पोखरेललाई ओलीको जवाफ- पूर्वसर्त राख्नेहरूसँग सहमति हुँदैन

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन करकापपूर्ण सहमतिको प्रयास नहुने बताएका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने बताएका हुन् । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने उनले स्पष्ट पारे ।

उनले प्रतिनिधिहरूले विश्वास गरे भने आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने स्पष्ट गरे । ‘म थपिनेवालमा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ’, उनले भने ।

एमालेविरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको सुनाए । यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिष्पर्धा वा बिना करकाप नेतृत्व छानिने बताए ।

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने पनि उनले स्पष्ट पारे । ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्‍यो नि, मसँग त कुरा गर्नुभएको छैन’, उनले भने ।

Logo