महेश बाबुको द्वैभाषिक कविता संग्रह ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

महेश बाबुको द्वैभाषिक कविता संग्रह ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

बिहीबार किताब जात्रा, नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित पुस्तक लोकार्पण समारोहमा साहित्यकार, समालोचक, पाठक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

द्वैभाषिक (नेपाली–अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविको मूल नेपाली कवितासँगै उनका १४ वर्षिय छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ। कृति शरीर, मन र आत्मा नामक तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम–वियोग र दार्शनिक चिन्तनका विभिन्न तहहरू समेटिएको छ।

कार्यक्रमको विशेष आकर्षण भनेको कविता वाचन कार्यक्रम थियो, जहाँ कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपालीमा वाचन गरे र त्यसपछि सम्राटले सोही कविताहरू अंग्रेजीमा प्रस्तुत गरे। यस दुवै भाषामा गरिएको प्रस्तुतीकरणले उपस्थित दर्शकमा गहिरो प्रभाव पारेको थियो।

यसअघि प्रकाशित तिमल्सिनाको कृति ‘अजम्मरी अक्षरहरू’ को शैलीअनुसार, समालोचकहरूले यसपटक पनि उनको लेखनलाई जीवनबोध, समाजबोध र समयबोधका विविध कोणबाट विश्लेषण योग्य रहेको टिप्पणी गरे।

कवि तिमल्सिनाले भने, “मैले सरल नेपाली भाषामा मनका भावना उतारेँ, र सम्राटले त्यसलाई अंग्रेजीमा अत्यन्तै संवेदनशील रूपमा पुनःसृजना गरिदियो। नयाँ पुस्तालाई बुझाउन दुवै भाषामा पुस्तक प्रस्तुत गरिएको हो।”

अनुवादक सम्राटले भने, “अनुवाद भनेको शब्द बदल्नु होइन, भावना फेरि जन्माउनु हो। यसले मलाई कविता र बाबुलाई नयाँ नजरले बुझ्न सिकायो।”

संयुक्त राष्ट्रसंघका पूर्व राजदूत तथा प्राध्यापक प्रा. डा. जयराज आचार्यले नयाँ पुस्ताको सक्रियता प्रेरणादायक रहेको बताउँदै सम्राटको अनुवाद–प्रयासको प्रशंसा गरे ।

यसैगरी कवि, गीतकार एवं उपन्यासकार विप्लव प्रतीकले नेपाली कविता गहिरोसँग बुझिनु आवश्यक रहेको उल्लेख गर्दै नेपाली कविता र अंग्रेजी अनुवाद एउटै पुस्तकमा हुनु राम्रो प्रयास भएको बताए । मिडिया व्यक्तित्व टिकाराम यात्रीले ‘समाचार हराएको सूचना’ कविता वाचन गर्दै कवि र अनुवादकलाई निरन्तर सिर्जनात्मक यात्राका लागि उत्साहजनक शुभकामना दिए।

कार्यक्रममा नेपाली र अंग्रेजी दुवै भाषामा कविता वाचन, लेखक–अनुवादक अन्तरक्रिया, तथा पुस्तकको सिर्जनात्मक यात्राबारे आकर्षक प्रस्तुति गरिएको थियो । यात्रा प्रकाशन गृहद्वारा प्रकाशित ‘अक्षरहरूको क्यानभास’ बजारमा उपलब्ध छ।

Skip This
Skip This
Logo