काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बाजुराबाट २०७९ मा निर्वाचित सांसद पाण्डेले पार्टीमा नयाँ पुस्तालाई अवसर दिने, संगठन सुदृढीकरणमा केन्द्रित हुने र जेनेसी आन्दोलनको समयमा सरकारमा रहँदा युवाका माग सम्बोधन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै यो निर्णय लिएको बताएका छन्।
“म मन्त्रीपरिषद्को सदस्य थिएँ, आन्दोलनकारीका माग समयमै सम्बोधन हुन सकेनन्। त्यसको सामूहिक जिम्मेवारी म पनि लिन्छु,” उनले केन्द्रविन्दुसँग भने। उनले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र गृहजिल्ला बाजुराबाट अरुलाई अवसर दिने स्पष्ट पारेका छन्। अबको प्राथमिकता पार्टीको वैचारिक सुदृढीकरण, संगठन विस्तार र नयाँ नेतृत्वलाई मार्गदर्शन दिने रहेको उनको भनाइ छ।
केपी ओली सरकारमा पर्यटनमन्त्री हुँदा नीतिगत स्थिरता र पारदर्शिताका लागि काम गरेको भन्दै ‘पर्यटन मन्त्री वर्ष’ पुरस्कारसमेत प्राप्त गरेका पाण्डेले आगामी कांग्रेस महाधिवेशनमा भने समन्वयकारी भूमिका निर्वाह गर्ने र पदको विषयमा नेतृत्वसँग छलफल गरेर निर्णय लिने बताएका छन्। कांग्रेसभित्रै यो कदमलाई धेरैले “नैतिक र दूरगामी राजनीतिक निर्णय” का रूपमा टिप्पणी गरेका छन्।































प्रतिक्रिया