काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशन जबज (जनताको बहुदलीय जनवाद) का आधारभूत मान्यताअनुसार स्वस्थ प्रतिस्पर्धा र सहकार्यमार्फत योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्ने बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई स्वागत गरेकी छन् । उनले महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व तथा आ–आफ्ना क्षेत्रका जिम्मेवार नेताहरू भएको उल्लेख गर्दै पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित राजनीतिक परिवेश र विश्व परिस्थितिबारे उनीहरू अवगत रहेको विश्वास व्यक्त गरेकी छन् ।
उनले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले जबजका आधारभूत मान्यताहरू आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउने तथा सक्षम नेतृत्व निर्माण गर्न सफल हुने दृढ विश्वास व्यक्त गरेकी छन् ।
मुलुक तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै भण्डारीले प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न महाधिवेशन सफल होस् भन्ने कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।































प्रतिक्रिया