एमाले महाधिवेशनको उद्घाटनस्थलमा पुगे अध्यक्ष ओली

एमाले महाधिवेशनको उद्घाटनस्थलमा पुगे अध्यक्ष ओली

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ ।

कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसकेका थिए । अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र तालीका साथ स्वागत गरेका छन् ।

महाधिवेशनस्थलमा दुवै दिशाबाट झण्डा र ब्यानरसहित ठूला–ठूला र्‍यालीसहित नेता–कार्यकर्ताहरू प्रवेश गर्ने क्रम जारी छ । उल्लेख्य सहभागिताका कारण तीनकुनेस्थित नेपाल ट्रष्टको मैदान पूरै भरिएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन केही बेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको छ । उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहेका छन् ।

देशभरका प्रतिनिधि, नेता तथा कार्यकर्ताको व्यापक उपस्थितिसँगै एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उत्साहपूर्ण वातावरणमा अघि बढिरहेको छ । पार्टीले यो महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्त्वको रूपमा लिएको छ ।

Logo