काठमाडौँ
प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समय देखि सुविधा सम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका प्रहरी जवान देखि अधिकृतहरूको नामावली संकलन कार्यलाई तीव्र बनाएका छन् । महानिरीक्षक खनालले लामो समय देखि तल्लो तहमा रोकिएको बढुवा समेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको छ ।
३ वर्ष देखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याललाई चुनौती दिँदै प्रहरी महानिरीक्षकमा बढुवा भएका खनालले सरुवा र बढुवालाई एकैपटक अगाडि बढाउन निर्देशन दिएको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयले एकैपटक जवान देखि उच्च तहका प्रहरी अधिकारी गरी ६ हजारको सरुवा र १ हजार ६ सय भन्दा बढीको बढुवाको तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न एकाइमा लामो समय देखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
प्रहरीले प्रहरी मुख्यालयको विभिन्न शाखामा सरुवा हुँदै बस्दै आएको संख्या यकिन गरेको छ भने उनीहरू १० वर्ष भन्दा बढी समय मुख्यालयका विभिन्न शाखामा कार्यरत रहेको पाइएको र उनीहरूलाई दुर्गममा सरुवा गरी दुर्गममा रहेकाहरूलाई प्रहरी प्रधान कार्यालय लगायत सुगममा सरुवा गर्ने तयारी गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले सरुवा र बढुवाको तयारी भएको जानकारी दिए । ‘हामी सरुवा बढुवाको तयारीमा छौं क्रमशः सरुवा तथा बढुवा गर्दै जान्छौं –प्रवक्ता न्यौपानेले भने ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया