नाइमाको पहिलो साधारण सभा सम्पन्न, एक्सपोको मिति पनि घोषणा

नाइमाको पहिलो साधारण सभा सम्पन्न, एक्सपोको मिति पनि घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी वर्ष २०८३ का लागि मोबिलिटी एक्सपोको मिति घोषणा गरेको छ । नाइमा मोबिलिटी एक्सपो, २०८३ आगामी २६–३१ साउनमा आयोजना हुने भएको छ ।

काठमाडौंमा बसेको संस्थाको पहिलो साधारण सभाले दोस्रो मोबिलिटी एक्सपोको मिति घोषणा गरेको हो । यसअघि संस्थाले पहिलो मोबिलिटी एक्सपो २१–२५ साउन, २०८२ काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको थियो । संस्था स्थापनाको छोटो समयमै मोबिलिटी एक्सपो आयोजना गरिएकोमा ठूलो सफलता प्राप्त गरेको नाइमाले जनाएको छ ।

हालै सम्पन्न नाइमाको पहिलो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष रितु सिंह वैद्यले स्थापनाको छोटो अवधिमा नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताएकी छिन् ।

विगत नौ महिनामा संस्थाले पाएको सफलताले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरूलाई एकै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर र मोबिलिटी क्षेत्रका सिकाइसत्रहरू निरन्तर सञ्चालन गरिनुले संस्थाको भूमिकालाई अझ बृहत्तर र विश्वसनीय बनाएको उनले बताइन् ।

त्यसैगरी, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गर्दै संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति प्रतिबद्धता जनाए । सदस्यहरूले नाइमाले सक्रिय र प्रभावकारी रूपमा गरिरहेको काम प्रति प्रशंसा व्यक्त गर्दै आपत्कालिन अवस्थामा राज्यका निकायहरूलाई सहयोग गर्न पाउँदा आफूहरू गौरवान्वित भएको पनि उनले बताए ।

त्यसैगरी, सभाले २०८२/८३ का कार्यक्रम पारित गर्दै नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिमहरू, क्षेत्रगत अध्ययन अनुसन्धान, नीतिगत बहस पैरवीका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

सभाले संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने र मेगाटिच ग्रुप प्रालिलाई नयाँ सदस्यको रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीमा सदस्यको रूपमा मनोनीत गर्ने निर्णयसमेत गरेको छ ।

Logo