काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो इभीको प्रस्तुतिमा आयोजना गरेको ‘टियागो ईभी इन्टर स्कुल आर्ट कार्निभल’ थापाथलीस्थित टाटा मोटर्सको शोरुममा सुरु भएको छ।
शुक्रबार कार्निभलमा दुई हप्ता अगाडि बुढानीलकण्ठ स्कुलको समन्वयमा सम्पन्न भएको कला प्रतिस्पर्धामा कोरिएका उत्कृष्ट चित्रहरू राखिएका थिए । उक्त प्रतियोगितामा बुढानीलकण्ठ लगायत अन्य १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो, जसमा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले आफ्ना कलात्मक प्रतिभा प्रस्तुत गरेका थिए। तिनै विद्यार्थीहरूले मेहनतका साथ तयार पारेका पेन्टिङहरूलाई अहिले सार्वजनिक रूपमा अवलोकनका लागि शोरुममा सजाइएको छ।

कार्निभलको उद्देश्यबारे प्रकाश पार्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर कार भेहिकल डिभिजनका जनरल म्यानेजर सावन्तजङ्ग सिजापतीले भने, ‘हामीले जुन समुदायमा रहेर वर्षौंदेखि व्यवसाय गरिरहेका छौं, त्यही समुदायको कला र संस्कृतिलाई प्रवर्धन गर्नु हाम्रो दायित्व हो। स्कुलका विद्यार्थीहरूमा लुकेको अद्भुत प्रतिभालाई एउटा उचित मञ्च प्रदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’

प्रदर्शनीको उद्घाटन सत्रमा विद्यार्थीका अभिभावकहरू, ग्राहक, सञ्चारकर्मीहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूका साथै सिप्रदीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

टाटा मोटर्सले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ। विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने यो कदमले कला क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
































प्रतिक्रिया