मुम्बई । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ । बिसीसीआई छनोट समितिले शनिबार १५ सदस्यीय बलियो टोली सार्वजनिक गरेको हो।
यस पटक टोलीको नेतृत्व विस्फोटक ब्याटर सूर्यकुमार यादवले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी अलराउन्डर अक्षर पटेललाई सुम्पिएको छ। टोलीमा युवा र अनुभवी खेलाडीहरूको सन्तुलन कायम गरिएको छ।
यो वर्ष उत्कृष्ट प्रदर्शन गरेका अभिषेक शर्माले ओपनिङ ब्याटरका रूपमा स्थान बनाएका छन्। साथै इशान किशन र सन्जु सामसनकाे काँधमा विकेटकिपिङको जिम्मेवारी रहनेछ।
टोलीमा शुभमन गिलको नाम समावेश नहुनुलाई धेरैले अचम्मका रूपमा हेरेका छन्।
यसैगरी विश्वका घातक तीव्र गतिका बलर जसप्रित बुमराहले बलिङ आक्रमणको नेतृत्व गर्नेछन्। डिफेन्डिङ च्याम्पियनका रूपमा भारतले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा अमेरिका विरुद्ध मुम्बईमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सन्जु सामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राना, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिंगटन सुन्दर र इशान किशन (विकेटकिपर)।





























प्रतिक्रिया