एनसिसिएसमा स्नातक तहका नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य ओरिएन्टेशन कार्यक्रम सम्पन्न

एनसिसिएसमा स्नातक तहका नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य ओरिएन्टेशन कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेशनल कलेज अफ कम्प्युटर स्टडीज (एनसिसिएस) कलेजले स्नातक तहका नवप्रवेशी विद्यार्थीहरूका लागि भव्य ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको धुम्बाराहीस्थित रामाडा होटलमा आयोजित उक्त कार्यक्रममा स्नातक तहअन्तर्गत बीआइएम, बीएचएम, बीएससी/सीएसआइटी, बीबीएम र बीसीए २०२५ ब्याचका विद्यार्थीलाई स्वागत गर्दै ओरिएन्टेशन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा शैक्षिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रूपमा प्रा. डा. शशीधरराम जोशी सहभागी थिए भने विशेष अतिथिहरूमा एसोसिएट प्रा. डा. सञ्जिव प्रसाद पाण्डे, एनसिसिएस कलेजका प्राध्यापक गणेशमान सिंह बस्नेत तथा एनसिसिएस स्कुलका प्राध्यापक शंकरराज जोशी रहेका थिए । कलेजका सम्पूर्ण शिक्षक–शिक्षिका र नयाँ विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझै उत्साहित बनाएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्राध्यापक गणेशमान सिंह बस्नेतले एनसिसिएसले हालसम्म हासिल गरेका शैक्षिक, प्राविधिक तथा संस्थागत उपलब्धिहरूको चर्चा गरे । उनले कलेजले गुणस्तरीय शिक्षा, व्यावहारिक सीप र आधुनिक प्रविधिको समायोजनमार्फत विद्यार्थीहरूको भविष्य निर्माणमा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे । ‘हामी केवल डिग्री दिने संस्था होइनौं, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्ने अभियानमा छौं,’ उनले भने ।

प्रा. डा. शशीधरराम जोशीको प्रस्तुति कार्यक्रमको आकर्षणको केन्द्र रह्यो । उनले कम्प्युटर तथा सूचना प्रविधिले समाज र देशको विकासमा खेल्न सक्ने भूमिकाबारे प्रेरणादायी उदाहरणसहित व्याख्या गरे ।

प्रविधिको सही र सिर्जनात्मक प्रयोगले शिक्षा, स्वास्थ्य, प्रशासन र उद्यमशीलतामा ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै उनले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू आत्मविश्वासका साथ सामना गर्न आग्रह गरे ।

एनसिसिएस स्कुलका प्राध्यापक शंकर राज जोशीले प्रभावकारी कलेज व्यवस्थापनको महत्वमाथि प्रकाश पारे । ‘कुनै पनि शैक्षिक संस्थाको मेरुदण्ड भनेकै व्यवस्थापन हो,’ उनले भने । उनले एनसिसिएस कलेज शैक्षिक गुणस्तर, अनुशासन र व्यवस्थापनका हिसाबले नेपालको अग्रणी कलेजमध्ये एक भएको दाबी गर्दै सबै शिक्षक, कर्मचारी र विद्यार्थीप्रति आभार व्यक्त गरे ।

त्यस्तै, एसोसियट प्रा. डा. सञ्जिव प्रसाद पाण्डेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र गुगलजस्ता आधुनिक डिजिटल उपकरणहरूको प्रयोगले शिक्षा, व्यवसाय तथा अनुसन्धान क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना भएको बताए । साथै उनले एआई प्रविधिले ल्याएको परिवर्तनलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

डा. पाण्डेले विद्यार्थीहरूलाई समयसँगै निरन्तर नयाँ सीप सिक्न प्रेरित गर्दै डिजिटल साक्षरता र प्रविधिमैत्री सोच आजको आवश्यकता भएको उल्लेख गरे । उनका अनुसार एआईको प्रभावकारी उपयोगले अध्ययन–अध्यापनलाई सहज बनाउनुका साथै व्यवसायिक निर्णय र अनुसन्धानको गुणस्तर पनि उकास्न मद्दत गर्छ ।

कार्यक्रममा होटल म्यानेजमेन्ट विज्ञ राजाराम महतले बीएचएम कोर्सको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, उपलब्ध अवसर, करियर सम्भावना र अपेक्षाहरूबारे स्पष्ट पारेको थियो । उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त ओरिएन्टेशनले एनसिसिएसमा २०२५ ब्याचका विद्यार्थीहरूको शैक्षिक यात्राको सशक्त र प्रेरणादायी सुरुवात गराएको छ ।

Skip This
Skip This
Logo