खोटाङबासीका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने कांग्रेस नेता डा. सुनिल शर्माको घोषणा

खोटाङबासीका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने कांग्रेस नेता डा. सुनिल शर्माको घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनिल शर्माले खोटाङ जिल्लाका बासिन्दाहरूका लागि जुनसुकै रोग लागे पनि निःशुल्क उपचारको व्यवस्था गरिदिने घोषणा गरेका छन् ।

डा. शर्माले सञ्चालन गरेका दुई अस्पताल—काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल अस्पताल मार्फत खोटाङवासीहरूलाई निःशुल्क उपचार प्रदान गरिन लागेको हो । यो सुविधा सधैंका लागि नभई सीमित अवधिका लागि मात्र हो, तर यसले जिल्लाका गरिब तथा विपन्न परिवारहरूलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।

शर्माको मुख्य उद्देश्य भनेको पैसाको अभावमा उपचारबाट वञ्चित हुने नेपालीहरूलाई सहयोग गर्नु हो । यो पहललाई उनले राजनीतिक दलको सीमाभन्दा माथि राखेका छन् । ‘शिविरहरूमा कुनै दलगत भेदभाव हुँदैन, सबै नागरिकहरूलाई समान रूपमा सेवा दिइन्छ ।’ डा. शर्माले भने ।

शर्माको यो अभियान हलेसी महादेवको नाममा समर्पित छ र उनको भविष्यका साथीहरूको सम्झनामा सञ्चालित छ । उनी राजनीति गर्दा पनि समाजसेवा र पुण्य कमाउने उद्देश्य बोकेर सक्रिय छन् । यो कार्यक्रम खोटाङका आठ स्थानमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरहरूबाट सुरु हुनेछ ।

शिविरहरू पुस २५ गतेदेखि माघ ६ गतेसम्म चल्नेछन् । २५ गते सदरमुकाम दिक्तेलबाट सुरु हुने निःशुल्क स्वास्थ्य शिविरहरु २६ गते रामावेशी र सेलुखर्क २७ गते हलेसी महादेवी स्थान ३ गते दिपरुङ ५ गते चिसा पानी र ६ गते बराहा क्षेत्रमा आयोजना हुनेछ । वरिष्ठ चिकित्सकहरूको टोली केएमसी र नोबेल अस्पतालबाट आउनेछन् । शिविरहरूमा बिरामीहरूको स्वास्थ्य जाँच गरी रोग पहिचान गर्नेछ र आवश्यक परे उनीहरूलाई पायक पर्ने अस्पताल (केएमसी वा नोबेल) मा पठाइनेछ । अस्पतालमा प्रवेशदेखि डिस्चार्जसम्मको सबै खर्च अस्पतालले नै व्यहोर्नेछ ।

डा. शर्मा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता हुन् । शर्माले काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अस्पतालले देशभर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ । उनको नेतृत्वमा पूर्वी नेपालदेखि सुदूरपश्चिमका विकट जिल्लाहरू जस्तै हुम्ला, डोटी, बाजुरा, कालिकोट, मुगु, रोल्पा, पूर्वी रुकुम, डडेल्धुरा लगायतका ठाउँमा दर्जनौं शिविरहरू आयोजना भएका छन् । यी शिविरहरूबाट हजारौं विपन्न नागरिकहरूले लाभान्वित भएका छन् ।

Skip This
Skip This
Logo