गृह मन्त्रालयले सुरक्षाबाहेकका काममा खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । आज एक परिपत्र जारी गर्दै मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।
सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो ।
बहालवाला अति विशिष्ठ एवम् पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भए भन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।
गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभई खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् ।सशस्त्र प्रहरी बलका पनि करिब पाँच सय सुरक्षाकर्मी बहालवाला विशिष्ठ व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् ।
सुरक्षाकर्मीलाई घरमा कामदारको रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रुपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सार्वजनिक गरेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ को बुँदा नं ७१ मा सुरक्षा बाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई बैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसिमा तोकिएको थियो ।































प्रतिक्रिया