काठमाडौं
प्रमुख प्रतिपक्षी कांग्रेस महासमिति बैठक १५ जेठ भित्र बस्ने भएको छ । तीनै तह निर्वाचनमा पार्टी पराजयपछि नेतृत्व परिवर्तनको बहस चलिरहे पनि स्थगित केन्द्रीय समितिबाट १५ जेठ भित्र महासमिति बैठक गर्ने गरी मिति तय गर्ने तयारी भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थगित केन्द्रीय समिति बैठक आगामी ७ वैशाखबाट सुरु हुने र त्यसबाटै महासमिति मिति तय हुने भन्दै १५ जेठ भित्रै बैठक हुने सम्भावना रहेको बताए ।
‘स्थगित केन्द्रीय समिति सुरु भएपछि यही बैठकबाटै महासमिति मिति तय हुन्छ, १५ जेठ भित्र बैठक गर्ने गरी मिति तय हुने सम्भावना छ,’ प्रवक्ता शर्माले भने ।
निर्वाचनको पराजयमा केन्द्रीत रहन भन्दै गत ९ चैतबाट केन्द्रीय समिति बैठक बसिरहेकै बेला नेता खुम बहादुर खड्काको निधन पछि बैठक स्थगित भएको थियो । स्थगित बैठक आगामी ३ वैशाखबाट सुरु हुने भनिए पनि आमाको मुख हेर्ने दिन परेकाले ७ वैशाखबाट सुरु हुने जनाइएको छ । जारी बैठकमा हालसम्म ४४ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् । केन्द्रीय सदस्य मिन विश्वकर्माले बैठकबाट महासमिति बैठक मितिसँगै पार्टी विधान संशोधनका लागि मस्यौदा समिति बनाइने बताए ।
‘नयाँ संरचनाअनुसार पार्टी विधान परिमार्जन गर्नु पर्ने अवस्था छ,’ नेता विश्वकर्माले भने, ‘बैठकबाटै विधान मस्यौदा समिति समेत बनाइने छ ।’ कांग्रेस महाधिवेशन भएको २६ महिना बित्दा सम्म एकपटक पनि महासमिति बसेको छैन । विधान अनुसार महाधिवेशन भएको बाहेकका वर्ष महासमिति बोलाइनु पर्ने हुन्छ ।
राजधानीबाट































प्रतिक्रिया