काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादीले दुई पार्टी एकीकरणबारे ‘पर्ख र हेर’ को रणनीति अख्तियार गर्न लागेको छ ।
‘एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्टी र सरकार सञ्चालन गरिरहनु भएकोे छ त्यसले हाम्रा नेताहरूलाई झस्काएको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘त्यसैले माओवादी केन्द्रका नेताहरूमा वैशाख ९ गते नै पार्टी एकता गर्ने जाँगर कम देखिएको छ । अहिले पर्ख र हेर कै अवस्थामा छौं ।’ पार्टी एकीकरण प्रक्रियालाई हतारमा निष्कर्षमा पुर्याउनु भन्दा केही समय एमाले अध्यक्ष ओलीको कार्यशैली विचार गर्ने आन्तरिक रणनीति माओवादी केन्द्रले तय गरेको हो । पार्टी एकतापछि आफ्नो भूमिका कमजोर हुन सक्ने माओवादी नेतृत्वको बुझार्इ छ ।
माओवादी नेताहरू पार्टी एकताबाट पछि हट्ने पक्षमा भने छैनन् । तर उनीहरू तत्कालका लागि एकता प्रक्रिया केही समय पर सार्ने मनस्थितिमा छन् । ‘पार्टी एकताबाट पछि हट्ने अवस्था होइन । तर तत्काल एकता गरेर पछि बाहिर निस्कन राजनीतिक तथा कानुनी रूपमा गाह्रो हुनेछ । त्यसैले वैशाख ९ को मिति पछि सार्ने पक्षमा नेताहरू रहेका छन्,’ ती माओवादी नेताले भने, ‘थप गृहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता छ ।’
राजनीतिक दल सम्बन्धी नयाँ व्यवस्थाले पार्टी विभाजनपछिको कानुनी मान्यतालाई कठिन बनाएको छ । नयाँ दलको मान्यता पाउन पार्टी केन्द्रीय कमिटी र ससंदीय दल दुवैतर्फ कम्तीमा ४० प्रतिशत संख्या आवश्यक पर्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरूले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन पार्टी एकीकरण हुने बताउँदै आएका छन् । पार्टी एकताका वैचारिक र संगठनात्मक विषयमा मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलले वैशाख ९ गते एकता गर्न केन्द्रीय एकता संयोजन समितिमा सिफारिस गरेको छ ।
नागरिकबाट































प्रतिक्रिया