काठमाडौँ
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । आज बिहान आईजिपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्दैछ । आज बिहान साँढे नौ बजे मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि बढुवा सिफारीस समितिको बैठक बस्न लागेको हो । स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङकन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाएको छ ।
मंगलबार बिहान आईजिपी बढुवाका लागि गृहमा बैठक बस्न लागेको गृहसचिव प्रेम कुमार राईले बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आईजिपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान छैन । सरकारले सक्षम देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने प्रावधान छ । तर पनि गत वर्ष जस्तो आईजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारीस समितिका आधारमा आईजिपी बढुवा गर्न लागेको हो ।
नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले बुधबार देखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् । नेपाल प्रहरीमा आईजिपीसँगै प्रशासनतर्फका सबै एआईजीले पनि अवकाश पाउँदैछन् । त्यसकारण डिआईजीबाट सिधैं आईजिपीमा बढुवा गर्नु पर्ने प्रावधान छ । जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ‘फ्रन्टलाइन’ मा छन् । सशस्त्र प्रहरीमा एआईजी शैलेन्द्र खनाल अरु भन्दा ९ महिना सिनियर छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया