सुर्खेत
नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सुरु गरेको छ । नेपाल वायु सेवा निगमको १८ सीट क्षमताको जहाजले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंमा आइतबार देखि उडान सुरु गरेको हो । केही दिन अघि मात्र सुर्खेत विमानस्थलमा बुद्ध एयरले ४७ सिटे जहाज मार्फत परीक्षण उडान गरेको थियो । बुद्ध एयरले वैशाख १ गतेबाट उडान गर्ने तयारी गरिरहेको छ । सीधा उडान नहुँदा यहाँका नागरिकले नेपालगन्जबाट जहाज चढ्नु पर्ने बाध्यता थियो ।
सुरुमा नेपाल एयरलाइन्सले हरेक हप्ताको आइतबार मात्र उडान गर्ने गरी सेवा थालेको छ । यात्रुको चाप अनुसार उडान थप हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका सुर्खेत स्टेसन म्यानेजर चेतन तिमिल्सेनाले हरेक साताको आइतबार बिहान सवा ७ बजे काठमाडौं–सुर्खेत र बिहान ९ बजे सुर्खेत–काठमाडौं उडान गरिने बताए । प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष सुरु गर्न लागेसँगै भित्रिने पर्यटकको चापलाई मध्यनजर गरी उडान बढाउन सकिने उनको भनाइ छ । ‘हामीले सेवा सुरु गरेका छौं, केही दिन यात्रुको चाप हेर्दैछौं’, उनले भने, ‘यात्रुको चाप बढ्ने वित्तिकै उडान बढाउने छौं, यात्रुलाई सेवा दिन हामी तत्पर छौं ।’
हाललाई सुर्खेतबाट काठमाडौंका लागि सात हजार चार सय भाडादर तोकिएको छ । यस्तै काठमाडौंबाट सुर्खेतका लागि भने सात हजार पाँच सय रुपैयाँ भाडा तोकिएको छ ।’ सानो जहाज भएको र कम यात्रु ओसार्न मिल्ने भएकाले भाडा केही महँगो पर्न गएको एयरलाइन्सले जनाएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया