नयाँदिल्ली
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका गृहमन्त्री राजनाथ सिंह बीच भेटवार्ता भएको छ । भारतीय राष्ट्रपतिको कार्यालयमा हिजो साँझ भएको भेटवार्तामा नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित बनाएर आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने विषयमा कुराकानी भएको छ ।
भेटवार्ताका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, “खुला सीमा मित्रताको अनुपम नमूना भएकाले यसलाई थप व्यवस्थित बनाउने विषयमा प्रधानमन्त्री ओली र भारतीय गृहमन्त्री सिंहबीच कुराकानी भयो ।” प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै भारतीय गृहमन्त्री सिंहले आफूले नै भारतमा स्वागत गर्न पाउँदा थप उत्साहित र खुशी तुल्याएको उल्लेख गरे ।
नेपाल र भारत छिमेकी मात्रै नभई भ्रातृत्व, मैत्री एवं सदाचारको धनी समेत रहेकाले एक अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान मार्ग प्रशस्त भएको भारतीय गृहमन्त्रीको भनार्इ थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालको प्रमुख कार्यसूची विकास र आर्थिक समृद्धि मात्रै भएकाले त्यसका लागि एक अर्का देश बीच थप सहकार्यका स्रोतहरुको खोजी तथा पहिचान गरेर अगाडि जानु पर्नेमा जोड दिएका थिए ।
खुला सिमानाका कारण भारतले मात्रै नभई नेपालले पनि केही समस्या भोगेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई थप व्यवस्थित र दुवै देशका सुरक्षाकर्मी बीच थप समन्वय गरेर अगाडि जानु पर्नेमा जोड दिएका थिए । भेटवार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागिता रहेको थियो ।
रासस































प्रतिक्रिया