वाशिङ्टन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार राष्ट्रपति जेलेन्स्कीले शुक्रबार दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने प्रयास जारी रहने बताए । तर यदि प्रस्तावित शान्ति योजनामा अत्यन्तै कठिन र संवेदनशील निर्णय लिनुपर्ने अवस्था आयो भने २० बुँदे सम्पूर्ण योजनालाई जनमतसङ्ग्रहमार्फत युक्रेनी जनताकै निर्णयमा सुम्पिनु सबैभन्दा उपयुक्त उपाय हुने उनले बताए ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार जनमतसंग्रह आयोजना गर्नु राजनीतिक, प्रशासनिक र सुरक्षा दृष्टिले निकै जटिल प्रक्रिया भएकाले त्यसका लागि कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुन्छ । उनले मतदानको तयारी, मतदाताको सुरक्षा र निष्पक्ष प्रक्रिया सुनिश्चित गर्न यही अवधि न्यूनतम आवश्यकता भएको स्पष्ट पारे ।
रिपोर्टअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले रूसले जनमतसङ्ग्रहका लागि युद्धविराम आवश्यक पर्ने कुरा बुझेको भए पनि उनले अझ छोटो अवधिको युद्धविराम चाहेको सङ्केत दिएको बताए ।
जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भेटमा युक्रेन सङ्कट अन्त्यका लागि साझा रूपरेखामा सहमति हुने आशा व्यक्त गरे । उनले अमेरिका–युक्रेनबीच भएका अधिकांश द्विपक्षीय सहमतिहरू हाल पाँचवटा दस्तावेजमा समेटिइसकेको र आवश्यक परे थप एउटा दस्तावेज समावेश गर्न सकिने जानकारी पनि दिए ।































प्रतिक्रिया