हस्ताक्षर विवादले अड्कियो कांग्रेसको समानुपातिक सूची, आयोगमा समयमै नपुग्दा अन्योल

हस्ताक्षर विवादले अड्कियो कांग्रेसको समानुपातिक सूची, आयोगमा समयमै नपुग्दा अन्योल

केन्द्रबिन्दु
60
Shares

काठमाडौं। समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम समय सकिँदासमेत नेपाली कांग्रेसले निर्वाचन आयोगमा आफ्नो नामावली दर्ता गराउन सकेको छैन। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार बिहानसम्म सूची नबुझाइएको तथ्य स्वीकार गरेका छन्। मंगलबार बिहान संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पार्टीका तर्फबाट अझै आन्तरिक प्रक्रिया टुंगोमा नपुगेको संकेत गरे। “हामी अहिले आयोग बाहिर नै छौं, विषय मिलाउने काम भइरहेको छ,” उनले भने।

समयसीमा सकिए पनि प्रक्रिया अधुरो

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन पुस १३ र १४ गतेको समय तोकेको थियो। सो अवधिभर विभिन्न दलहरू आयोग परिसरमा रातभर सक्रिय रहे पनि कांग्रेसको सूची भने अन्तिम क्षणमा प्राविधिक कारणले अड्किएको हो। सूची बुझाउन प्रारम्भिक रूपमा कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव पौडेल आयोग पुगेका थिए। त्यसपछि मंगलबार बिहान करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुगेका थिए।

तर पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नदेखिएपछि आयोगका कर्मचारीहरूले फाइल स्वीकार गर्न अस्वीकार गरे। आवश्यक हस्ताक्षर नपुगेको फाइल नियमअनुसार दर्ता गर्न नमिल्ने आयोगको अडानपछि कांग्रेस टोली फर्किन बाध्य भएको हो।

देउवा निवासतर्फ दौडधुप

हस्ताक्षरको समस्या समाधान गर्न महामन्त्री शर्माको निर्देशनमा मुख्य सचिव पौडेल र मीन विश्वकर्मा सभापति देउवाको निवास महाराजगञ्ज पुगेका छन्। समाचार तयार पार्दासम्म उनीहरू पुनः आयोग फर्किएको पुष्टि भइसकेको छैन। यद्यपि आयोगका एक कर्मचारीले कांग्रेसले यसअघि नै निवेदन दर्ता गरिसकेको र उम्मेदवारहरूको सनाखतसमेत गराइसकेकाले आजभित्रै सूची बुझाउने सम्भावना कायम रहेको बताएका छन्।

कांग्रेसको समानुपातिक बन्दसूची समयमै नआउँदा दलभित्रको समन्वय, नेतृत्व हस्ताक्षर र अन्तिम निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ।

Skip This
Skip This
Logo