काठमाडाैं । थापाथलीस्थित द ब्रिटिस कलेज अन्तर्गत रहेर दुबईस्थित द वुलविच इन्स्टिच्युट टिडब्लुआईले प्रदान गर्ने प्रतिष्ठित इन्टर्नसिप कार्यक्रमलाई लिएर पछिल्ला दिनहरूमा विवाद चर्किएको छ । विवादले विद्यार्थी, कलेज प्रशासन, सामाजिक सञ्जाल र कानुनी पक्षसम्म तनाव सिर्जना गरेको छ ।
यसैबीच कलेज प्रशासनलाई विभिन्न बहानामा त्रसित बनाउँदै २ करोड रुपैयाँसम्मको रकम ब्ल्याकमेलिङ गरिएको तथ्य बाहिर आएको छ । हस्पिटालिटी म्यानेजमेन्ट कोर्समा भर्ना भएका विद्यार्थीहरूले कलेजले आफूहरूलाई झुक्याएर दुबईमा इन्टर्नसिपको नाममा अलपत्र पारेको तथा गैरमान्यता प्राप्त कोर्स पढाएको आरोप लगाउँदै विद्यार्थीले २ करोड रुपैयाँसम्म क्षतिपूर्ति माग गरेका हुन् । यस मागको नेतृत्व गरिरहेकी विद्यार्थी प्रियंका नेपालले सामाजिक सञ्जाल टिकटकमार्फत खुलमखुला रूपमा यो माग राखेकी छिन्, जसले विवादलाई थप चर्को बनाएको छ ।
प्रियंका नेपाल जो आफैंमा दुबईस्थित टिडब्लुआईकी विद्यार्थी होइनन्, उनी ब्रिटिस कलेजमै अध्ययनरत छिन् । तर उनी दुबईबाट व्यक्तिगत कारण देखाएर फर्किएकाहरुको आन्दोलनको नेतृत्व गर्दैछिन् ।
विवाद बढेपछि प्रियंका नेपाललगायतलाई कलेजका सीईओसँग बैठकमा सहभागी भएका थिए। तर बैठकमै प्रियंका नेपालले सीईओप्रति असभ्य व्यवहार गरेकी थिइन् । बैठकपछि उनले आफ्नै समूहमा गएर “५० लाख रुपैयाँ क्यास र चार वर्षको यूके डिग्री निःशुल्क दिने प्रस्ताव आएको तर साथीहरूका लागि छोडिदिएको” भन्दै प्रति व्यक्ति दुई–दुई करोड रुपैयाँ माग्नुपर्ने कुरा उठाएको दाबी गरिएको छ। कलेजले यी दाबीहरू टिकटक भिडियोमार्फत पनि सार्वजनिक भएको जनाएको छ। उक्त भिडियोमा प्रियंका नेपालले “हामीले ग्रुपमै बसेर दुई–दुई करोड मागेका हौँ, के गलत गर्यौँ ?” भनेर स्वीकार गरेको पनि देखिन्छ।
यता कलेजले भने ती असन्तुष्ट समूहका केही सदस्यहरू दुबईमा फाइन डाइनिङ र हस्पिटालिटी क्षेत्रमा काम गरिरहेको र १६०० एइडी तलब पाएको प्रमाण रहेको दाबी गरेको छ ।
यति मात्र होइन, कलेज प्रशासनका अनुसार दुबईबाट फर्किएका विद्यार्थीहरूको हकमा कुरा गर्दा, फर्किसकेका दुबै समूहका विद्यार्थीहरूको समस्या समाधान भइसकेको छ । उनीहरूले चाहेको निकास कलेजले उपलब्ध गराइसकेको छ । अहिले दुबई नगएका एक–दुई जना विद्यार्थीको विषयमा भने समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमा मात्र हल्ला गर्ने प्रवृत्ति देखिएको हो ।
कलेजका अनुसार विद्यार्थीलाई समस्या पर्दा कलेजमा कम्प्लेन गर्न सकिन्छ, विश्वविद्यालय, क्वालिटी एस्योरन्स बडी, शिक्षा मन्त्रालय, यहाँसम्म कि प्रहरी प्रशासन र अदालतसम्म जाने कानुनी बाटो खुला छ । तर, ती कुनै पनि प्रक्रिया नअपनाई सिधै सामाजिक सञ्जालमा टिकटक बनाउँदै आरोप लगाउनु, कर्मचारीको अनुमति बिना भिडियो खिच्नु र सार्वजनिक गर्नु गैरकानुनी काम हो।
ब्रिटिस कलेजबाटै टिडब्लुआईको इन्टर्नसिपमा दुबईमै रहेका विद्यार्थीहरुले यो विषयमा बोल्दा कलेजसँग २ करोडको ब्ल्याकमेलिङ गरेकी प्रियंका नेपालले व्यक्तिगत रुपमा उनीहरुलाई धम्की, गाली–गलौज र निजी सन्देश लिक गर्ने चेतावनीसमेत गुनासो आएको छ ।
कलेजकी हेड अफ एड्मिसन, आउटरिच एण्ड ईसीए दिव्या प्रभा झाका अनुसार, प्रियंका नेपालले निराधार आरोप लगाउँदै व्यक्तिगत असन्तुष्टिका कारण कलेजको ब्राण्डलाई बदनाम गर्न यो अभियान चलाएकी हुन् । कलेजले विद्यार्थीहरूसँग पटक–पटक छलफल गरेको, इन्टर्नसिपको प्रकृति स्पष्ट रूपमा जानकारी गराएको र दुबईको साझेदार संस्था टिडब्लुआईसँगको सहकार्य वैधानिक रहेको दाबी गरेको छ । तर इन्टर्नसिप अस्थायी प्रकृतिको हुने र रोजगारीको ग्यारेन्टी नदिइएको पनि स्पष्ट उल्लेख छ । यो विषयमा विद्यार्थी पूर्वजानकार नै हुन्छन् ।
कलेजले प्रियंका नेपालको व्यवहारलाई आक्रामक र धम्कीपूर्ण भनेको छ, जसमा उनले कलेजका अधिकारीहरूलाई गालीगलौज गरेको र साथीहरूलाई समेत दबाब दिएको दाबी गरिएको छ । यो विवादले नेपाली शिक्षा क्षेत्रमा ठूलो तरंग ल्याएको छ । एकातिर विद्यार्थीहरूको भविष्य जोडिएको छ, जो लाखौं शुल्क तिरेर अन्तर्राष्ट्रिय डिग्रीको सपना देखेर कलेज भर्ना भएका थिए। अर्कोतिर, कलेजको प्रतिष्ठा र ब्राण्ड मूल्य खतरामा परेको छ। शिक्षा मन्त्रालयले पनि यसबारे छानबिन सुरु गरिसकेको छ भने निष्पक्ष छानबिनका लागि सघाउन तत्पर रहेको कलेजले जनाएको छ ।





























प्रतिक्रिया