लिमिठाना माविमा विद्यार्थीलाई जीवनउपयोगी सीप शिक्षा प्रदान (फोटो फिचर)

लिमिठाना माविमा विद्यार्थीलाई जीवनउपयोगी सीप शिक्षा प्रदान (फोटो फिचर)

केन्द्रबिन्दु
486
Shares

निर्मल पौडेल, काठमाडौँ। पर्वतको फलेवास नगरपालिका–७, लिमिठानास्थित लिमिठाना माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई दैनिक जीवनमा प्रयोग हुने जीवनउपयोगी सीप शिक्षा प्रदान गरिएको छ । विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूलाई बाँस र निगालोबाट डोको बुन्ने तथा सालको पातबाट दुना–टपरी हाते पङ्खा लगायतका सामाग्रीहरु बनाउने व्यावहारिक सीप सिकाएको हो।

विद्यालयका प्रधानाध्यापक विजयराज पौड्यालका अनुसार शुक्रबार आयोजित उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई परम्परागत सीपसँगै श्रमको मूल्य र आत्मनिर्भर बन्ने आधारबारे सिकाइएको हो । “पाठ्यपुस्तकको ज्ञानसँगै जीवनमा काम लाग्ने सीप सिकाउनु हाम्रो उद्देश्य हो,” उनले भने।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नै हातले डोको, दुना र टपरी बुन्ने अभ्यास गरेका थिए । यसले उनीहरूमा सिर्जनशीलता, आत्मविश्वास र स्थानीय सीपप्रति सम्मान बढाएको विद्यालयको भनाइ छ ।

जिल्लामै नमुना विद्यालयका रूपमा स्थापित लिमिठाना माविमा प्रधानाध्यापक पौड्याल आएपछि शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार देखिन थालेको स्थानीय अभिभावक र सरोकारवालाहरूले बताएका छन्। विद्यालयमा सिकाइसँगै व्यवहारिक ज्ञान जोड्ने प्रयासलाई सकारात्मक रूपमा लिइएको छ ।

टपरी बुन्न सिकाउँदै शिक्षिका संगिता पौडेलले भनिन्, “आजका विद्यार्थी किताबको ज्ञानमा मात्रै सीमित हुनु हुँदैन। दुना–टपरी बनाउनेजस्ता सीपले उनीहरूलाई श्रमको मूल्य, आत्मनिर्भरता र हाम्रो मौलिक संस्कृतिप्रति सम्मान सिकाउँछ। आफ्नै हातले केही बनाउन सक्ने आत्मविश्वास नै जीवनउपयोगी शिक्षाको सार हो,”

यस्तै शिक्षिका सरिता देवकोटा पौडेलले विद्यालयको शिक्षा कक्षाकोठाभित्र मात्रै सीमित नहुने भन्दै दुना–टपरीजस्ता सीपले विद्यार्थीलाई आत्मनिर्भर बन्ने आधार दिने र हाम्रो मौलिक सीप तथा संस्कृतिप्रति गर्व गर्न सिकाउँछमा जोड दिइन्। यस्ता व्यवहारिक सिकाइले बालबालिकाको आत्मविश्वास निकै बढाउने पौडेलले विश्वास समेत व्यक्त गरिन् ।

विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि कृषि, हस्तकला, सीपमूलक तालिम र समुदायसँग जोडिने कार्यक्रमलाई थप विस्तार गर्ने योजना छ । यस्तो सीप शिक्षाले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बनाउनुका साथै स्थानीय संस्कृतिको संरक्षणमा समेत योगदान पुग्ने विश्वास लिइएको छ ।

Skip This
Skip This
Logo