नेपालयले ल्याउँदै छ २५ वर्षमुनिका ७५ लेखकका रचना 

नेपालयले ल्याउँदै छ २५ वर्षमुनिका ७५ लेखकका रचना 

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन् । नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो ।

‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना प्राप्त भएको नेपालयले जनाएको छ । ‘हामीले तीन विधा कथा, कविता र निबन्धमा रचना आह्वान गरेका थियौँ,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘सन् २००१ जनवरी १ यता जन्मेका ६ सयभन्दा बढी लेखक संसारभरिबाट सहभागी हुनुभयो ।’

तीन विधाका रचना छनोटका लागि नेपालयले तीन सदस्यीय छनौट समिति बनाएको थियो । कवि श्रवण मुकारुङ, आख्यानकार नारायण वाग्ले र लेखक भूषिता वशिष्ठले ७५ रचना चयन गरेका हुन् । कथा विधामा अजय कार्की, अनिता धिताल, अमित भट्टराई, आर्य अधिकारी, ईशान ढकाल, उमेश कार्की, कृतिशा अमात्य, तेजकुमार राई, दानबहादुर बुढा, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, नुमा थाम्सुहाङ, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसुदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेल छानिएका छन् ।

‘नयाँ पुस्ताको कथा शैली र शिल्प पढेर म छक्क परेँ । केही कथाले साँच्चै नयाँ युगबोध गराउँछन्,’ छनोट समिति सदस्य आख्यानकार नारायण वाग्लेको भनाइ छ, ‘केहीले स्थानीयताको महक दिन्छन् । केहीले कथ्यमा मौलिकता थप्छन् । जेन–जीको आख्यान–आन्दोलनको आभास मैले यी कथामा भेटेँ ।’

यसै गरी कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्या निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीन नेपाली, नारन न्यौपाने, प्रज्वल वि.क., प्रदीप योङ्हाङ्, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।

‘नयाँ पुस्ताका यी कविहरूले नयाँ ठाउँमा उभिएर नयाँ जीवन वा नयाँ समय–चेतनालाई सम्बोधन गरेका छन्,’ निर्णायक कवि श्रवण मुकारुङ भन्छन्, ‘यी कविका रचनामा नितान्त निजात्मक अनुभूति मात्र छैन, त्यहाँ आजको मानिस, समाज र देशको कथाव्यथा पनि जबर्जस्त व्यञ्जित छ । यी कविको काल्पनिकी हाम्रो पनि सपना हो ।’

धेरै राम्रा कविताबाट २५ वटा मात्र छान्नुपर्दा आफूलाई अप्ठेरो भएको उनले बताए ।

यसै गरी निबन्ध विधामा अनुकृत लामिछाने, अनुष्का लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कबिन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धिरजप्रताप मल्ल ठकुरी, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।

‘यी लेख–रचना पढिसक्नु र जेनजी आन्दोलन हुनु सँगसँगै जस्तो भयो । यी रचना पढ्न पाउनु मेरा लागि जति सुरुचिपूर्ण भयो, उति नै शिक्षाप्रद पनि,’ निर्णायक सदस्य भूषिता वशिष्ठ भन्छिन्, ‘नयाँ पुस्ताको विषय, शैली, साहित्यिक प्रौढता सुन्दर पाएँ । शिल्पका हिसाबले कसैलाई आलाकाँचा पनि लाग्ला तर जुन उमेर समूहमा यिनले जे लेखेका छन्, त्यो उत्साहजनक छ ।’

भाषाले अभिव्यक्तिमा बारबन्देज नलगाओस् भनेर जुनसुकै भाषामा रचना पठाउन सकिने खुला नीति नेपालयले लिएको थियो । जसअनुसार पुस्तकमा लेखकले लेखेकै भाषामा रचना छापिनेछ ।

नयाँ पुस्ता कलात्मक रूपमा के सोच्छ, के चाहन्छ ? के लेख्छ, कसरी लेख्छ भन्ने महसुस गर्न आफूहरूले यस्तो पहलकदमी लिएको नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठको भनाइ छ । ‘पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको हाम्रो यात्रा २० वर्ष पुगेको अवसरमा हामीले नयाँ पुस्ताका लेखक खोजी गरेका हौँ,’ किरणकृष्ण श्रेष्ठले भने, ‘एक्काइसौँ शताब्दीको पहिलो दिनदेखि जन्मेका यी लेखकका रचनामा पाठकले नयाँ स्वर भेट्ने विश्वास हामीले लिएका छौँ ।’ रचनाशक्तिकै आधारमा झन्नै चालीस प्रतिशत महिला लेखक छानिएकोमा आफूलाई खुसी लागेको श्रेष्ठले बताए ।

छानिएका रचना समेटेर पब्लिकेसन नेपालयले विधागत रूपमा तीन पुस्तक प्रकाशन गर्नेछ ।

Skip This
Skip This
Logo