काठमाडाैं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई नियन्त्रणमा लिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामा ठूलो स्तरको सैन्य हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत शनिबार बिहान यस ऐतिहासिक र विवादास्पद घटनाको पुष्टि गरेका हुन्। उनले मादुरो र उनकी पत्नीलाई हिरासतमा लिई भेनेजुएलाबाट बाहिर लगिएको बताएका छन्।
ट्रम्पले लेखेका छन्, “संयुक्त राज्य अमेरिकाले भेनेजुएला र त्यहाँका नेता राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक ठूलो स्तरको आक्रमण गरेको छ। मादुरोलाई उनकी पत्नीसहित पक्राउ गरी देशबाहिर लगिएको छ। यो अपरेसन अमेरिकी कानुन प्रवर्तन निकायहरूसँगको समन्वयमा गरिएको हो।”
अमेरिकाले निकोलस मादुरोलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करी संगठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो, जसलाई मादुरोले सधैं अस्वीकार गर्दै आएका छन्।यसअघि अमेरिकाले मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने सूचना दिने व्यक्तिलाई ५० मिलियन डलर (५ करोड डलर) को पुरस्कार राखेको थियो।
पछिल्ला केही महिनादेखि यस क्षेत्रमा अमेरिकी सेनाको ठूलो चहलपहल बढेको थियो, जसलाई धेरैले मादुरो विरुद्धको ठूलो कदमको संकेतका रूपमा लिएका थिए।
अहिलेसम्म भेनेजुएला सरकारले आधिकारिक रूपमा आफ्नो राष्ट्रपतिको गिरफ्तारीको पुष्टि गरेको छैन। तर, भेनेजुएलाको राजधानी काराकासमा ठूला विस्फोटहरू र कम उचाइमा विमानहरू उडेका रिपोर्टहरू आएका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यो अपरेसन अमेरिकी सेनाको विशेष टोली ‘डेल्टा फोर्स’ ले सम्पन्न गरेको हो। यस घटनाले दक्षिण अमेरिका र विश्व राजनीतिमा ठूलो हलचल ल्याउने निश्चित देखिएको छ।





























प्रतिक्रिया