फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमानहरु

फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमानहरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ ले नयाँ विश्व च्याम्पियन मात्र जन्माएन, विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिदियो । लियोनेल मेसी, किलियन एम्बाप्पे, रोड्री, उनाइ सिमोन र माइकल ओलिसेसहित धेरै खेलाडीले इतिहासमा नयाँ अध्याय थपे भने केही प्रशिक्षक र टोलीले पनि दुर्लभ उपलब्धि हासिल गरे ।

यो विश्वकपमा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिता सकिँदासम्म २२ गोल पुर्‍याउँदै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे । विश्वकप सुरु भएपछि सुरुमा लियोनल मेसीले यो कीर्तिमान तोडे पनि प्रतियोगिता सकिँदा एमबाप्पे मेसीभन्दा अगाडि रहँदै शीर्ष स्थान कब्जा गरे ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले एउटै संस्करणमा तीन ऐतिहासिक कीर्तिमान बनाए । उनी विश्वकपमा सबैभन्दा धेरै २३ खेलमा जित निकाल्ने खेलाडी बने। यस्तै उनले लगातार ९ खेलमा गोल गर्ने कीर्तिमान पनि बनाए । यसअघि जस्ट फन्टेन र जाइरजिन्होको नाममा लगातार ६ खेलमा गोल गर्ने कीर्तिमान थियो । मेसी विश्वकपमा पेनाल्टी क्षेत्रबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट ७ गोल गरे ।

फ्रान्सका माइकल ओलिसेले प्रतियोगिताभर ७ असिस्ट गर्दै एउटै विश्वकप संस्करणमा सर्वाधिक असिस्ट गर्ने नयाँ कीर्तिमान बनाए । यसअघि सन् १९७० मा ब्राजिलका महान् खेलाडी पेलेले ६ असिस्ट गरेका थिए। ओलिसेका ७ मध्ये ५ असिस्ट एम्बाप्पेका गोलमा परिणत भएका थिए, जुन पनि नयाँ कीर्तिमान हो ।

स्पेनका कप्तान रोड्रीले प्रतियोगिताभर ७९० सफल पास पूरा गर्दै आफ्नै विश्वकप कीर्तिमान तोडे । उनले फिफा विश्वकप २०२२ मा बनाएको ६३८ पासको कीर्तिमान सुधार गरे । यसअघि यो कीर्तिमान स्पेनकै जाभी (५९९) को नाममा थियो ।

स्पेनका गोलरक्षक उनाइ सिमोनले ८ खेलमध्ये ७ खेलमा क्लिनसिट राख्दै विश्वकप इतिहासकै नयाँ कीर्तिमान बनाए । स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र बेहोर्दै विश्वकप जित्ने टोलीमध्ये सबैभन्दा मजबुत रक्षात्मक प्रदर्शन पनि गर्‍यो ।यसअघि कुनै पनि विश्वविजेता टोलीले दुईभन्दा कम गोल खाएको थिएन ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बने । उनले लियोनल मेसीलाई समेत पछि पार्दै अर्को दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए ।

कुरासाओका प्रशिक्षक डिक एड्भोकाट ७८ वर्ष २७१ दिनको उमेरमा विश्वकपमा टोली सम्हाल्ने इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बने । फ्रान्सका प्रशिक्षक डिडियर डेसचाम्प्सले विश्वकपमा प्रशिक्षकका रूपमा २६ खेल पूरा गर्दै जर्मनीका हेल्मुट शोनलाई पछि पारे । उनी विश्वकपमा सबैभन्दा धेरै जित निकाल्ने प्रशिक्षक पनि बने ।

स्विट्जरल्यान्डका योहान मान्जाम्बी विश्वकपमा बेन्चबाट आएर दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । इंग्ल्यान्डका जुड बेलिङ्घम र ह्यारी केन तथा फ्रान्सका ओस्मान डेम्बेले र किलियन एम्बाप्पे एउटै विश्वकप संस्करणमा समान टोलीका दुई खेलाडीले ६–६ गोल गर्ने पहिलो जोडी बने ।

कुरासाओका गोलरक्षक एलोय रुमले इक्वेडरविरुद्ध १६ सेभ गर्दै विश्वकपको एउटै खेलमा सर्वाधिक बचाउ गर्ने कीर्तिमान बराबरी गरे । साथै करिब १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो जनसंख्या भएको राष्ट्र पनि बन्यो ।

Logo