साहित्यकार शोभाकान्त गौडेलको ‘कालीगण्डकीका किनार’ सार्वजनिक

साहित्यकार शोभाकान्त गौडेलको ‘कालीगण्डकीका किनार’ सार्वजनिक

केन्द्रबिन्दु
78
Shares

एन.पि. घायल पर्वत । कालीगण्डकी नदीलाई केवल पानी बग्ने धार होइन, सभ्यता, संस्कार र जीवनको निरन्तर यात्राका रूपमा बुझ्ने दृष्टिकोणसहित लेखक शोभाकान्त गौडेलको कृति ‘कालीगण्डकीका किनार’ प्रज्ञा भवन कमलादीमा सार्वजनिक भएको छ । पर्वत जिल्ला फलेवास निवासी गौडेलद्वारा लिखित यो पुस्तक कालीगण्डकी क्षेत्रको इतिहास, सामाजिक विकास र जीवनपद्धतिलाई निबन्धात्मक ढंगले उजागर गर्ने दुर्लभ दस्तावेज बन्ने कार्यक्रममा सहभागिले बताएका छन् ।

पुस्तक लोकार्पण समारोहमा सहभागी वक्ताहरूले ‘कालीगण्डकीका किनार’ लाई स्थानीय इतिहासलाई मौखिक परम्पराबाट लिखित संरचनामा उतार्ने गम्भीर प्रयासका रूपमा व्याख्या गरे । कालीगण्डकी किनारमा विकसित सभ्यता, धार्मिक आस्था, सांस्कृतिक अभ्यास र जनजीवनका उतार–चढावलाई पुस्तकले सरल तर गहिरो भाषामा प्रस्तुत गरेको उनीहरूको भनाइ छ ।

नदीसँग जोडिएको जीवनको कथा ‘कालीगण्डकीका किनार’

कालीगण्डकी नेपालकै मात्र होइन, दक्षिण एसियाकै महत्वपूर्ण सभ्यतामध्ये एकको केन्द्र मानिन्छ । यही नदी किनारमा जन्मिएका संस्कार, व्यापारिक मार्ग, धार्मिक विश्वास र सामाजिक संरचनालाई लेखक गौडेलले खोज, अध्ययन र अनुभवका आधारमा निबन्धमा ऐना बनेका छन् । पुस्तकमा इतिहासको तथ्य र लोकजीवनको अनुभूति सँगसँगै बगेको देखिन्छ ।

लेखक गौडेलका अनुसार ,“कालीगण्डकीसँग मानिस मात्र होइन, समय पनि बगेको छ, गण्डकी सभ्यता बाँचेको छ । देश, काल ,परिस्थिती र समयलाई समातेर शब्दमा उतार्नु मेरो प्रयास हो।” उनका निबन्धहरू नदी किनारका बस्ती, त्यहाँको श्रम, आस्था र परिवर्तनको कथामा आधारित रहेको लेखक गौँडेलको भनाई छ ।

हराउँदै गएको स्मृतिको संरक्षण

सो कार्यक्रममा बाल्ने वक्ताहरूले आधुनिक विकास र परिवर्तनसँगै कालीगण्डकी सभ्यतासँग जोडिएका धेरै पक्षहरू ओझेलमा पर्दै गएको उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी तथा प्रमुख अतिथी भोलानाथ शर्मा लम्सालले यो कृती एउटा एतिहासिक दस्तावेज भएको उल्लेख गरे । उनले भने,

“समाज परिवर्तन ठूला भाषणले नभएर निरन्तर सेवाले सम्भव छ ,राजनीति र सत्ता बदलिँदै जान्छन्, तर शिक्षा, संस्कृति र मानवीय सेवामा लगानी गरे मात्र दिगो समाज निर्माण हुन्छ। हामीले आफ्नै ठाउँ, आफ्नै समुदायबाट जिम्मेवारी लिन सके परिवर्तन टाढा छैन।”

यस्तो अवस्थामा ‘कालीगण्डकीका किनार’ जस्ता कृतिले इतिहास र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने लम्सालले विश्वास व्यक्त गरेका छन् । यस्तै पुस्तकको परीचर्चा गर्दै समिक्षक अग्रज साहित्यकार षडानन्द पौडयालले कालीगण्डकीका किनारले केवल नदीको कथा मात्र बताएको नभएर हाम्रो सभ्यता, जीवनशैली र स्थानीय अनुभवलाई शब्दमा बाँध्ने साहसिक प्रयास गरेको उल्लेख गरे । उनले यस्तो कृति पाठकलाई इतिहास र संस्कृतिसँग संवाद गराउन सक्षम भएकोमा जोड दिए ।

यो पुस्तक इतिहासका विद्यार्थी, समाजशास्त्री, संस्कृतिप्रेमी मात्र होइन आफ्नै माटोको कथा खोज्ने पाठकका लागि पनि उपयोगी हुने अन्य बक्ताहरुको भनाई रहेको छ । स्थानीय सभ्यतालाई राष्ट्रिय पाठकसम्म पु¥याउने प्रयासका रूपमा यस कृतिलाई हेरिएको छ ।

‘कालीगण्डकीका किनार’ ले नदीलाई केन्द्रमा राखेर समाजको यात्रा पढ्न चाहने पाठकलाई फरक अनुभूति दिने पुस्तक लोर्कापाण कार्यक्रममा सहभागिहरुले बताएका छन् ।

आजको राजनीति केवल सत्ताको अंकगणितमा सीमित हुँदै गएको छ, जहाँ विचार र मूल्य पछाडि धकेलिएका छन्। यस्तो अवस्थामा साहित्यले समाजलाई प्रश्न गर्न सिकाउँछ र राजनीति सच्याउने ऐना बन्छ। जब राजनीतिको भाषा कठोर हुन्छ, साहित्यले नै मानवीय संवेदना जोगाइराख्छ भन्नेकुरामा राजनैतीक विश्लेषक एवं प्रगतिशिल विचारधारा बोक्ने लेखक मनहरी तिमिल्सिना बताउँछन् ।

Logo