डोल्पा घटनामा प्रहरीमाथि नै अनुसन्धान, एसपीको नेतृत्वमा समिति गठन,५ प्रहरी नियन्त्रणमा

डोल्पा घटनामा प्रहरीमाथि नै अनुसन्धान, एसपीको नेतृत्वमा समिति गठन,५ प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा एक युवक बेपत्ता भएको र त्यसपछि इलाका प्रहरी कार्यालय खादाङमा तोडफोड भएको घटनाको छानबिन गर्न एसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा समिति गठन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएर अनुसन्धान अघि बढाएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।

पुस १८ मा साँझ त्रिपुरासुन्दरी–५ ल्हाँ गाउँका ३५ वर्षीय जुन रोकायालाई लागूऔषध बोकेको सूचनाका आधारमा पक्राउ गर्न खोजिएको थियो। प्रहरीले चेकप्वाइन्ट राखेपछि रोकाया सम्पर्कविहीन भएका थिए। उनी हालसम्म फेला नपरेको र स्थानीयले ठूली भेरीमा खसेर बेपत्ता भएको आरोप लगाएका छन्।

घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय खादाङमा तोडफोड गरेका थिए। पीडित परिवारले प्रहरी कर्मचारीले नै युवक बेपत्ता बनाएको आरोप लगाउँदै जाहेरी दिएका छन्। जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय खादाङका इन्चार्जसहित ५ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एसपी घर्ती मगर नेतृत्वको समितिले युवक बेपत्ता भएको घटना र प्रहरी चौकी तोडफोड दुवै विषयमा अनुसन्धान गरी प्रतिवेदन प्रदेश प्रहरी कार्यालयमा पेस गर्नेछ। हाल डोल्पाको अवस्था सामान्य रहेको र तोडफोड भएको चौकीमा थप सुरक्षा फौज परिचालन गरिएको छ।

Logo