बादल बने एमालेको चुनावी कमाण्डर, सातै प्रदेशमा तोकिए संयोजक

बादल बने एमालेको चुनावी कमाण्डर, सातै प्रदेशमा तोकिए संयोजक

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमालेले संगठनलाई पूर्ण रूपमा चुनावी मोडमा लैजाने निर्णय गरेको छ । मंगलबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गर्दै चुनावी अभियानको औपचारिक सुरुआत गरेको हो ।

पार्टी स्रोतका अनुसार अब एमालेको सम्पूर्ण सांगठनिक संरचना निर्वाचन केन्द्रित हुनेछ । परिचालन कमिटीको सचिवको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ भने कमिटी सदस्यमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।

एमालेले यो कमिटीलाई उम्मेदवार व्यवस्थापन, प्रचार रणनीति, जनसम्पर्क, कार्यकर्ता परिचालन र विपक्षी दलसँगको राजनीतिक प्रतिस्पर्धाको समन्वय गर्ने मुख्य निकायका रूपमा अघि सारेको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा एमालेले समय खेर नफाल्दै संगठनलाई मैदानमा उतार्ने तयारी थालेको हो । त्यसअघि माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएकाले दुवै निर्वाचनलाई एउटै रणनीतिक ढाँचामा अघि बढाइने बताइएको छ ।

सातै प्रदेशमा तोकियो चुनावी संयोजक

सचिवालय बैठकले केन्द्रसँगै प्रदेशस्तरमा पनि निर्वाचन केन्द्रित संरचना सक्रिय बनाएको छ । एमालेले सातै प्रदेशमा संयोजक तोक्दै संगठनलाई तल्लो तहसम्म परिचालन गर्ने निर्णय गरेको हो ।

पार्टीका अनुसार

कोशी प्रदेश – शेरधन राई

मधेश प्रदेश – लिलानाथ श्रेष्ठ

बागमती प्रदेश – महेश बस्नेत

राजधानी प्रदेश – राजन भट्टराई

गण्डकी प्रदेश – खगराज अधिकारी

कर्णाली प्रदेश – यमलाल कणेल

सुदूरपश्चिम प्रदेश – गणेश ठगुन्ना

प्रदेश संयोजकहरूले जिल्ला र स्थानीय तहसम्म चुनावी अभियान समन्वय गर्ने जिम्मेवारी पाउनेछन् ।

यस्तै एमाले नेतृत्वले यो निर्वाचनलाई ‘राजनीतिक पुनरागमनको अवसर’का रूपमा हेरेको छ । सत्ता गठबन्धनविरुद्ध आक्रमक रूपमा मैदानमा उत्रने रणनीतिसहित संगठनलाई सक्रिय बनाइएको नेताहरूको भनाइ छ ।

पार्टी स्रोत भन्छ, “अब एमाले बैठकभन्दा मैदानमा केन्द्रित हुनेछ । परिचालन कमिटीलाई पूर्ण अधिकार दिएर चुनावी लडाइँ लड्ने तयारी गरिएको हो ।”

Skip This
Skip This
Logo