काठमाडौं । ५९ वर्षे संसदीय इतिहास भएको नेपालमा लामो संक्रमणकालपछि नयाँ संसद खडा भएको छ । संघीय संसद्मा दुइटा सभा छन्– प्रतिनिधिसभा र राष्ट्रिय सभा । प्रत्यक्ष १६५ र समानुपातिक ११० गरेर प्रतिनिधिसभा २७५ सदस्यीय छ ।
बहुमत र एकल संक्रमयणिय प्रणालीबाट ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनित गरी राष्ट्रिय सभा ५९ सदस्यीय छ । नयाँ संघीय संसदमा पुराना राजनीतिक खेलाडी र पात्रहरु ‘मिस’ भएका छन्, ‘मिस’ भएका पात्रहरुको चर्चा अर्को दिन हुनेछ, तर यसपटक नयाँ संसदमा आएका केही पात्रहरुको चर्चा गरौं ।
विरोध खतिवडाः नियमापत्ति ‘किङ’
मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद विरोध खतिवडा चौथो पटक निर्वाचित भए । प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ लाई १० हजार मतान्तरले जितेका खतिवडा चौथो पटक संसदमा प्रवेश पाएका हुन् । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए ।
संसद नियमित काममा अघि नबढ्दै खतिवडाले नियमापत्ति गरेर विरोध श्रृंखला सुरु गरेका छन् । उनी सत्तापक्ष हुँदा पनि नहुँदा पनि नियमावली मिच्दा कडारुपमा संसदमा प्रस्तुत हुने गरेका छन् । ०६४ र ०७० को चुनावमा संसद बाहिर रहेका खतिवडा विगतमा पनि संसदमा बहस छेडेर चर्चित थिए ।
राजेन्द्र लिङ्देनः समावेशी प्रणालीविरोधी जनजाति सांसद
झापा– ३ मा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई हराएर चुनाव जितेका लिङ्देनले संसदमा अहिलेसम्म दुई पटक बोल्ने मौका पाए । एमाले र माओवादी केन्द्रको समर्थनमा सांसद भएका लिङ्देन दुवै पटक बोल्दा संसदमा चर्चित भए ।
उनी भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुतमात्र हुँदैनन्, शपथमा नै भ्रष्टाचार नगर्ने शब्द थपेर संसद सचिवालयमा बुझाए । भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर हुने अभिव्यक्ति दिएका लिङ्देनले संसदमा भ्रष्टाचारविरुद्ध कडा कानुनको माग गरेका छन् । उनी समावेशी र समानुपातिक प्रणालीका विरोधी हुन् ।
मोहन आचार्यः ठेकेदारका ठेकेदार
संघीय संसदमा यसपटक धेरै ठेकेदारहरु छाँटिए । विक्रम पाण्डेदेखि जनार्दन ढकालसम्म चुनावमा हारे । एक नम्बरका ठेकेदार ढकाललाई हराएर आचार्य चर्चामा रहे । रसुवामा बलियो रहेको नयाँ शक्तिसँगको तालमेलले एक नम्बरका ठेकेदार आचार्य विजयीमात्र भएनन्, कांग्रेसको झिनो सिट संख्यामा अर्को सिट थपे । उनी कांग्रेस महासमिति सदस्य हुन् ।
नवराज सिलवालः डीआईजीबाट हुत्तिएर संसदमा
आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी नवराज सिलवाल ललितपुर– १ बाट प्रतिनिधिसभा सदस्य भए । कांग्रेसबाट उम्मेदवार भएका तत्कालिन अर्थराज्यमन्त्री उदयशम्सेर राणालाई ६ हजार २ सय १७ मतले हराउँदै सिलवाल निर्वाचित भए ।
वरीयतामा पहिलो नम्बरमा रहेका सिलवाललाई आईजीपी हुन तत्कालिन पुष्पकमल दाहाल सरकारले रोकेपछि उनले राजीनामा दिएका थिए । सिलवाललाई आईजीपी बनाउनुपर्ने भन्दै सार्वजनिक धारणा राखेका एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टिकट दिएर क्षतिपूर्ति दिलाए ।
कृष्णकुमार श्रेष्ठः ‘हेबिवेट’ लाई हराउने ‘हेबिवेट’
‘हेबिवेट’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भए । पौडेल राजनीतिमा ‘हेबिवेट’ नेता हुन् । श्रेष्ठ पनि ‘हेबिवेट’ नै हुन्, सम्भवतः संसदमा सबैभन्दा बढी तौल भएका नेता उनी होलान् ।
हँसिला स्वभावका श्रेष्ठ ठेकेदार हुन्, उनलाई पैसाले नै जितेको आरोप छ । तर, चुनावमा पौडेलले लगातार जित्दा पनि कुनै विकास नगरेको, छोरालाई आफूपछि सांसद बनाउन लागेकोजस्ता नाराले यसपटक श्रेष्ठले कांग्रेसको किल्ला तोडे ।
डा. सूर्य पाठकः राजनीतिक गर्नकै लासि जापानबाट फिर्ता
डा. सूर्य पाठक लामो समय जापान बसेर राजनीति गर्नै फर्केका नेता हुन् । बागलुङ– १ बाट निर्वाचित पाठकले कठीन क्षेत्रमा चुनाव जिते । १४ वर्ष जापानमा बसेर अध्ययन र व्यवसाय गरेका पाठक ०७० को चुनावमा भने लज्जास्पद हार व्यहोरेका थिए ।
चुनाव हारेपछि पनि जिल्ला नछाडेका पाठकलाई बाम गठबन्धनले पनि यसपटक चुनाव जित्न सहज बनायो । पाठक तिनै हुन्, जसले ०५६ को स्ववियु चुनावमा गगन थापालाई त्रिचन्द्र कलेजमा च्यालेन्ज गरेका थिए ।
छक्कबहादुर लामाः २६ वर्षपछि संसदमा
पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट २६ वर्षपछि प्रतिनिधिसभा सदस्यमा दोहोरिए । माओवादी केन्द्रका नेता लामालाई पार्टीले टिकट नदिएपछि कलम चुनाव चिन्ह लिएर लडेका थिए । लामाले प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतको अन्तरले पराजित गरे । चुनाव जितेपछि भने माओवादी केन्द्रमै समाहित भएका छन् ।
हृदयेश त्रिपाठीः कडा मधेसवादी कम्युनिस्टमा
कुनै समय कम्युनिस्ट राजनीतिमै रहेका हृदयेश त्रिपाठी वामपन्थी दल नेकपा एमालेबाट सूर्य चिन्हमा चुनाव लडेर जिते । ६ वटा मधेस केन्द्रित दल मिलेर राजपा बनेपछि त्रिपाठीले आफ्नो समूहका ५ जनालाई मिलाएर सूर्य चिन्हमा चुनाव लडे । तीमध्ये त्रिपाठी र बृजेशकुमार गुप्ताले चुनाव जिते ।
बाम गठबन्धनबाट उम्मेदवार बनेका उनी ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए ।





























प्रतिक्रिया