अलैंचीबाट उकासिए लमजुङका कृषक

अलैंचीबाट उकासिए लमजुङका कृषक

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

मर्स्याङ्दी गाउँपालिका–७ छिनखोला गाउँबाट बेँसीशहर झरेका अजय तामाङ परिवारका साथ सुख, सयल र सुविधाको जीवन बिताउने सपना देखेर १३ वर्षअघि दुवई हार्निए । उनको सपना केवल सपना मात्रै भयो । विदेशमा न सोचेजस्तो काम, न सोचेजस्तो कमाइ । साढे दुई वर्षपछि उहाँ नेपाल फर्किनुभयो । न विदेशको कमाइ, न स्वदेशमा कुनै रोजगारीको उपाय । दुविधा बढ्दै गएपछि उहाँले झलक्क सम्झिनुभयो, छिनखोलाकै पाखो पखेरो ।

उतिबेला गाउँगाउँमा अलैँची खेतीको लहर चलेको थियो । त्यही लहरमा लहरिँदै पसे छिनखोलाको सेपिलो पाखातिर । उनले शुरु गरे अलैँची खेती । उतिबेला काम खोज्दै विदेश भौँतारिएका उनी अहिलेका उकाशिएका अलैँची कृषक । शुरुमा उनले एक रोपनी जग्गामा अलैँची खेती विस्तार गरे । खेतीमा राम्रो हुन थालेपछि अहिले ४० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन् । अलैँची दाना बेचेर अघिल्लो वर्ष रु पाँच लाख बढी कमाएको उनले जानकारी दिए । यस वर्ष पनि उनले सोही हाराहारीमा अलैँची दाना बिक्री गर्दै आम्दानी गरे ।

यस वर्ष उनले ४०० किलो अलैँची उत्पादन गरेका थिए । अलैँची खरिद बिक्री गर्ने बिरुवा बिक्रीबाट गत वर्ष डेढ लाख बिरुवा उत्पादन गर्दै बिक्री गरेको र यस वर्ष २०० बिरुवा उत्पादन गर्ने लक्ष्य अलैँची कृषक तामाङको छ । उनले आफ्नै बारीमा अलैँची नर्सरी समेत स्थापना गरेर उत्पादनका साथै अलैँची बिरुवा बिक्री गर्दै आएका छन् ।

अलैँचीका दाना र बिरुवा बिक्री गरेर वार्षिक रु १२/१३ लाख सजिलै आम्दानी हुने गरेको उनको भनाइ छ । उनलाई यसरी वार्षिक यतिका रकम आम्दानी हुँदा शुरु शुरुमा त सपनजस्तै हुने गरेको थियो । उनले कहिल्यै यस पेशाबाट आम्दानी गर्नुभएको थिएन । अलैंची व्यवसाय सम्हाल्नुभन्दा अघि परिवारको सुनौलो भविष्यको सपना देख्दै आफू विदेश गएको उनको अनुभव छ । “त्यहाँ दुःख गरेपनि वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन सकेन । अहिले परिवारको साथमा घरमा बसीबसी वार्षिक रु १२/१३ लाख र कुनै वर्ष त १५ लाखसम्म कमाइ हुने गरेको छ”, उनी भन्छन्, “यतिका आम्दानी हुन्छ भनेर कहिल्यै सोचिको नै थिइन, अलैँची खेतीले मेरो भाग्य नै परिवर्तन गरिदिएको छ ।”

उनी नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्ष तथा लमजुङ शाखाको अध्यक्ष समेत छन् । रोजगारी नभएर गाउँ छाड्ने गरेका र विदेशमा रहेका युवालाई गाउँगाउँमा आएर अलैँची खेती गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न उनको आग्रह छ । कति युवालाई त उनले विदेश जानबाट रोक्दै अलैँची व्यवसायमा आबद्ध गराएर सफल कृषकसमेत बनाइकेका छन् । उनले जिल्लाका युवा तथा कृषकलाई अलैँची खेतीमा आबद्ध गराउँदै सफल कृषक बनाउनमा ठूलो योगदान दिएका छन् ।

अजयजस्तै मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि अलैँची खेती गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनले पनि अलैँची व्यवसाय शुरु गर्नुअघि १० वर्ष मलेसियामा काम गरे । विदेशको रोजगारीले खासै प्रगति । सुनौलो भविष्य देखेर गएका उनको जीवन सोचेजस्तो हुन सकेन । “कडा परिश्रम गरेकै थिएँ, तर आम्दानी सोचेजस्तो नहुँदा परिवारको खर्च पनि चलाउन मुस्किल भयो”, उनी थप्छन्, “घडेरी, सम्पत्ति जोड्ने कुरात परको हुन पुग्या, घरखर्च चलाउन पनि मुस्किल भयो ।” विदेशबाट फर्किएपछि गाउँमा छाडेर गएको बाँझो जग्गामा अलैँची खेती विस्तार गर्न थाले । विदेशबाट आउने बित्तिकै २३ वर्षअघि शुरुमा एक रोपनी जग्गाबाट अलैँची खेती विस्तार गरेका उनले अहिले ४० रोपनी क्षेक्रफलमा अलैँची खेती गरेका छन् ।

विदेशमा कमाइ गर्न नसके पनि नेपालमा नै अलैँची खेतीबाट धेरै राम्रो आम्दानी भइरहेको उनले बताए । वार्षिक रु सात लाखसम्म अलैँची दानाबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ । उनले स्थापना गरेको खाचे अलैँची नर्सरी तथा जडीबुटी नर्सरी फार्ममा उत्पादित नर्सरी अलैँचीको बिरुवा बिक्रीबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ । विदेशमा गर्न नसकेको आम्दानी परिवारको साथमा बसेरै राम्रो आम्दानी भएपछि अहिले उनलाई अलैँची व्यवसाय ढिलो शुरु गरेको र विदेश गएकोमा पछुतो छ ।

तामाङद्वय जस्तै अर्का अलैँची कृषक मर्स्याङ्दी –७ छिनखोलाका बलराम लामाले अलैँचीबाट वार्षिक रु ९/१० लाख आम्दानी गर्दै आएका छन् । अलैंची खेति शुरु गर्नुअघि आफ्ना गाउँठाउँको जग्गा जमीन घरपरिवार र आफन्त छोडेर उनी विदेश पुगे । रोजगारीको सिलसिलामा पाँच वर्षसम्म खाडीमुलुकमा भविष्य नदेखेपछि आफ्नै गाउँमा अलैँची खेती गर्न थालेका लामाले २० रोपनी जग्गामा अलैँची खेती गर्दै आएका छन् । यस वर्ष अलैँची बिक्रीबाट करीब रु पाँच लाख आम्दानी गर्न सफल भएको उनले जानकारी दिए । विदेशमा दुई लाख रुपैयाँ आम्दानी गर्न कठिन भएको बताउँदै उनले अहिले अलैंचीले त्यहाँको भन्दा दोब्बर बढी आम्दानी भएको र परिवारको गुजारा राम्रैसँग चलेको अनुभव सुनाए । “विदेशमा भन्दा स्वदेशमै गर्नसके भविष्य उज्वल हुँदो रहेछ”, उनले भने ।

अलैँची खेती यस जिल्लामा ३६ वर्षअघिबाट शुरुवात भएको अलैँची महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तामाङको भनाइ छ । अलैँची खेतीतर्फ युवा आकर्षित भएको र यसले कृषकको जीवन नै परिवर्तन भएको उनले बताए । पछिल्ला वर्षमा शहर पसेका पनि गाउँगाउँ आएर अलैँची खेती गर्न थालेको जनाउँदै परम्परागत खेतीभन्दा अलैँची खेतीबाट धेरै आम्दानी हुने भएकाले यसतर्फ आकर्षण बढेको उनको तर्क छ । जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । यस वर्ष कृषकले तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका छन् ।

जिल्लामा एक ५०० हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अलैँचीको विभिन्न प्रकारका हुने भए पनि जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आइएको छ । रासस

Skip This
Skip This
Logo