मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

केन्द्रबिन्दु
9
Shares

झापा । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै रु ४८ करोड ५२ लाख ७३ हजार मूल्यबराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।

गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा रु ३६ करोड ७६ लाख २३ हजार मूल्यबराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उहाँले बताए ।

गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात रु ११ करोड ७६ लाख ५० हजारले बढेको जनाइएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । मेची भन्सारबाट निर्यात हुने प्रमुख १० मालवस्तुको सूचीमा छुर्पी चौथो स्थानमा छ ।

पहाडी तथा हिमाली जिल्लामा दुग्धजन्य वस्तुबाट छुर्पी उत्पादन हुन्छ । निर्यात भएर अधिकांश छुर्पी युरोप र अमेरिका पुग्ने गरेको छ । ती मुलुकमा यसलाई कुकुर र बिरालोको खानाका रूपमा प्रयोग गर्छन् ।

नेपाल छुर्पी व्यवसायी सङ्घका महासचिव ऋषि तिम्सिनाले नेपालमा उत्पादन हुने छुर्पीको ८० प्रतिशत हिस्सा कोशी प्रदेशले ओगटेको बताए । नेपालबाट निर्यात हुने प्रमुख उत्पादन छुर्पीको उत्पादन र व्यवसाय प्रवद्र्धनका लागि सरकारले ध्यान दिन नसकेको महासचिव तिम्सिनाले गुनासो गरे।

Skip This
Skip This
Logo