काठमाडौं। नेपालमा पछिल्लो एक वर्षको अवधिमा झन्डै चार लाख नयाँ सवारीसाधन दर्ता भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ अनुसार आर्थिक वर्ष २०८१÷८२ मा देशभर तीन लाख ७६ हजार ३९३ वटा नयाँ सवारीसाधन दर्ता भएका हुन्।
राष्ट्र बैंकका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को तुलनामा ३७.८ प्रतिशतले बढी हो। दर्ता भएका सवारीमा कार, जिप, भ्यान, बस, ट्रक, मोटरसाइकल र स्कुटरसहित सबै प्रकारका सवारीसाधन समेटिएका छन्। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा कम सवारीसाधन दर्ता भएका छन्। सो अवधिमा बागमती प्रदेशमा एक लाख ३५ हजार ८६६ वटा नयाँ सवारी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३६.१ प्रतिशतले वृद्धि हो।
सबैभन्दा कम दर्ता कर्णाली प्रदेशमा भएको छ, जहाँ आर्थिक वर्ष २०८१÷८२ मा तीन हजार ९७७ वटा मात्र नयाँ सवारी दर्ता भए। यस प्रदेशमा सवारी दर्ता अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले मात्र वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।सवारी दर्ताको सङ्ख्यामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको छ। यहाँ सो अवधिमा ८४ हजार ४६९ वटा नयाँ सवारी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २२.४ प्रतिशतले बढी हो।
त्यसैगरी, मधेश प्रदेशमा ६८ हजार २५९ वटा सवारी दर्ता भएका छन्, जहाँ दर्ता संख्या १८.१ प्रतिशतले वृद्धि भएको छ। कोशी प्रदेशमा ५१ हजार १३४ वटा (१३.६ प्रतिशत वृद्धि), गण्डकी प्रदेशमा १७ हजार ९६७ वटा (४.८ प्रतिशत वृद्धि) र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२१ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्, जहाँ वृद्धि दर ३.९ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिमा सुधार, उपभोक्ता माग बढ्नु र सवारी आयातमा सहजताले पछिल्लो वर्ष सवारी दर्तामा उल्लेख्य वृद्धि देखिएको हो।































प्रतिक्रिया