काठमाडौं । नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवारका रूपमा विप्लवलाई सिफारिस गरेको हो ।
माओवादी युद्धकालमा रोल्पामा बारुद, बन्दूक र छर्रासँग खेलेका विप्लव चुनाव चिन्ह गुलाव लिएर रोल्पा बाट चुनाव लड्ने भएका हुन् । युद्धकालिन घाउ त अझै छ भने एउटा परिवर्तन र समाज रुपान्तरणको इतिहासको ऐना बनेर सतिसाल उभिनेछ रोल्पा । एक माओवादी नेताले भने, “विप्लव कमरेडले नयाँ इतिहास रच्नुहुनेछ ”
सिफारिसप्रति प्रतिक्रिया जनाउँदै विप्लवले सामाजिक सञ्जाल मार्फत पार्टी, सहयोद्धाहरु र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनले आफूप्रति गरेको विश्वास, राखेको अपेक्षा र दिएको जिम्मेवारीलाई वर्तमान पेचिलो राजनीतिक परिस्थितिमा गम्भीर कार्यभारका रूपमा बुझेको बताएका छन् ।
विप्लवले आगामी दिनमा सबै मित्र, अभिभावक, शुभचिन्तक तथा राजनीतिक दलहरूसँग परामर्श गर्दै निर्णय कार्यान्वयनतर्फ अघि बढ्ने स्पष्ट पारेका छन् । उनले आभार व्यक्त गर्दै जिम्मेवारीलाई साझा छलफल र सहमतिका आधारमा अगाडि बढाउने संकेत दिएका छन् ।































प्रतिक्रिया