काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने हल्लालाई सशक्त रूपमा अस्वीकार गरेका छन्। पार्टी एकतामा आँच आउने कुनै संकेत देखिए आफू नै सबैभन्दा पहिला महाधिवेशन हल छाड्ने चेतावनी उनले दिएका छन्।
पुस २७ र २८ गते काठमाडौँमा बोलाइएको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र र बाहिर विभिन्न अड्कलबाजी भइरहेका बेला शर्माले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले विशेष महाधिवेशनलाई पार्टीलाई अझ मजबुत बनाउने अवसरका रूपमा व्याख्या गर्दै विभाजनको आशंका निराधार भएको बताए ।
“महाधिवेशन पार्टी सुधार र सुदृढीकरणका लागि हो, फुटका लागि होइन,” शर्माले भने, “यदि कुनै पनि चरणमा पार्टी विभाजनतर्फ जान खोजियो भने त्यो प्रक्रिया रोक्न सबैभन्दा पहिला म स्वयं हलबाट बाहिर निस्कन्छु।”
शर्माको अभिव्यक्तिलाई काँग्रेस नेतृत्व तहबाट आएको एकताप्रतिको स्पष्ट र कडा सन्देशका रूपमा हेरिएको छ । पछिल्लो समय विशेष महाधिवेशनलाई लिएर देखिएको राजनीतिक चासोबीच उनको भनाइले पार्टी कार्यकर्ता र समर्थकहरूलाई आश्वस्त पार्ने प्रयास गरेको विश्लेषकहरूको भनाइ छ ।





























प्रतिक्रिया