काराकास। राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले अमेरिकाले गरेको सैन्य आक्रमणले भेनेजुएलालाई गहिरो मानवीय संकटतर्फ धकेलेको छ। सरकारी अधिकारीहरूका अनुसार आक्रमणमा हालसम्म कम्तीमा १०० जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
भेनेजुएलाका आन्तरिक मामिला मन्त्री डियोसडाडो क्याबेलोले बुधबार अबेर आक्रमणको विवरण सार्वजनिक गर्दै मारिनेहरूमा द्वन्द्वसँग कुनै सम्बन्ध नभएका सर्वसाधारण नागरिक, महिलाहरू र आफ्नै घरभित्र बसिरहेका व्यक्तिहरू समेत रहेको बताएका छन्। उनका अनुसार आक्रमणले सैन्य लक्ष्यभन्दा बढी नागरिक क्षेत्र प्रभावित भएको छ ।
राजधानी काराकाससहित देशका विभिन्न सहरहरूमा खसालिएका शक्तिशाली बमका कारण आवासीय भवनहरू ध्वस्त भएका छन्। विद्युत्, खानेपानी र सञ्चार सेवा प्रभावित भएका छन्। अस्पतालहरू घाइतेले भरिएका छन् भने औषधि र चिकित्सकीय सामग्रीको अभाव गम्भीर बन्दै गएको छ। उद्धारकर्मीहरू भग्नावशेषभित्र फसेका नागरिकहरूको खोजीमा निरन्तर जुटिरहेका छन्।
स्थानीय बासिन्दाहरूले रातभर विस्फोटको आवाज, धुवाँ र आगोले आकाश ढाकिएको दृश्य सम्झँदै डर र अनिश्चितताको वातावरण अझै कायम रहेको बताएका छन्। धेरै परिवार विस्थापित भएका छन् भने बालबालिका र वृद्धहरू सबैभन्दा बढी जोखिममा परेका छन्।
यसैबीच, क्युबा सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सैन्य अभियानका क्रममा आफ्ना ३२ जना नागरिक मारिएको जनाएको छ । ती नागरिकहरू क्युबाली सशस्त्र बल र गृह मन्त्रालयको मिशनमा भेनेजुएलामा रहेका थिए। यद्यपि, भेनेजुएलाले सार्वजनिक गरेको १०० जनाको मृतक संख्यामा क्युबाली नागरिकहरू समावेश छन् वा छैनन् भन्नेबारे स्पष्टता आएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको दाबी गरेका छन्। तर कारबाहीका क्रममा एउटा हेलिकप्टर क्षतिग्रस्त हुँदा केही अमेरिकी सुरक्षाकर्मी घाइते भएको स्वीकार गरेका छन्।
मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले आक्रमणपछि उत्पन्न मानवीय अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले नागरिक सुरक्षाको सुनिश्चितता, मानवीय सहायता पहुँच र तत्काल युद्धविरामको आह्वान गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो सैन्य कारबाहीले भेनेजुएलाको राजनीतिक संकटलाई मात्र होइन, लाखौँ सर्वसाधारणको जीवनलाई प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। बमबारीको पीडा, विस्थापन र भयको बीच भेनेजुएलाका नागरिकहरू अहिले अस्तित्वको संघर्षमा छन्।
सीएनएन































प्रतिक्रिया