काठमाडौं
एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको संगठनात्मक संरचना तयार भएको छ । केन्द्रमा २९९ सदस्यीय केन्द्रीय समिति बनाउने गरी अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठिन कार्यदलले ३७ दिन लगाएर बुधबार प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । यद्यपि कार्यदलको रिपोर्टलाई पार्टी एकता संयोजन समितिले पारित गरेपछि मात्रै विधानका आधारमा एकीकृत पार्टीको संरचना निर्माण हुनेछ ।
केन्द्र देखि तल्लो तहको प्रारम्भिक कमिटी सम्म आठ तहका पार्टी संरचना निर्माण गर्ने गरी एकीकृत पार्टीको अन्तरिम विधान तयार भएको छ । आगामी २ वर्ष भित्रै एकीकृत पार्टीकोे एकता महाधिवेशन सम्पन्न गरिसक्ने गरी कार्यदलले अन्तरिम विधान तयार पारेको एमाले नेता तथा कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिए । २३ अध्याय र ७७ धारामा केन्द्रित गरी कार्यदलले अन्तरिम विधान तयार पारेको छ ।
पार्टी एकताका क्रममा सबै नेतालाई समेट्न उमेर हद नलगाउने गरी हाललाई खुला राखिएको छ । तर दुई कार्यकाल भन्दा बढी समय पदाधिकारी रहन नपाउने प्रावधानलाई अन्तरिम विधानमा समेटिएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनलाई अब दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले बुझ्ने समय दिएको जुन कुनै बेला पनि बुझाउन सक्ने गरी तयारी अवस्थामा राखिएको कार्यदलका अर्का सदस्य तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए । ‘हाम्रो कार्यदलले काम सम्पन्न गरेको छ, अब उहाँहरू (दुवै पार्टीका अध्यक्ष) ले जहिले माग्नु हुन्छ, वा बुझाउनका लागि समय दिनु हुन्छ त्यही बेला बुझाउन तयारी अवस्थामा छौं’, शर्माले भने ।
ओली र दाहाल दुवैले संयोजन गरेको एकता संयोजन समितिले ७ फागुनमा अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा कार्यदल तथा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वको अर्को कार्यदल गठन गरेको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया