काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेतृहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि आज त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको छ।
सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा बीच कार्यालय परिसरमै झडप भएको हाे ।
महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् र अनसन समेत सुरु गरेका छन्। उनीहरूको आरोप अनुसार, समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको छ, जुन पार्टीको सिद्धान्त र जनभावनाविपरीत छ।
महिला नेतृहरूको विज्ञप्तिमा बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा राप्रपालाई अहिलेसम्म एक मत पनि नहालेकी, पार्टीको साधारण सदस्य नरहने गरी कारबाही भोगेकी खुश्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन स्पष्ट माग गरिएको छ। साथै, खुश्बु ओलीलाई प्रत्यक्ष चुनाव लड्न पठाइनुपर्ने र समानुपातिक अवसर वास्तविक संघर्षशील कार्यकर्तालाई दिनुपर्ने उनीहरूको भनाइ छ।
विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले कडा आपत्ति जनाएका छन्। “राप्रपा कुनै एक व्यक्तिको वा उनको परिवारको लागि कुर्बानी दिने पार्टी होइन,” भन्दै महिला नेतृ चम्पाधिकारीसहित अन्य नेतृहरूले चेतावनी दिएका छन् कि माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाइनेछ।





























प्रतिक्रिया