तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
15
Shares

२०८२ पुष २७ देखि माघ ३ गतेसम्मको राशिफल ।।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

यो हप्ता करियर, कर्म र भाग्यका दृष्टिले महत्वपूर्ण रहनेछ । यो साता कामकाजमा गति आउनेछ । नोकरीपेशा गर्नेहरुको प्रमोशन वा पद–प्रतिष्ठा बढ्ने सम्भावना छ । व्यापारमा नयाँ अवसर देखिनेछन् र विस्तारको योजना अघि बढ्न सक्छ। लामो समयदेखि गरेको मेहनतको सकारात्मक फल पाउन थाल्नुहुनेछ ।

हप्ताको सुरुआतमा भने केही मानसिक तनाव र काममा ढिलाइ देखिन सक्छ। दैनिक कार्यमा अवरोध आउनु, साना–साना काम पनि सजिलै पूरा नहुनुले मन खिन्न बनाउन सक्छ। कार्यक्षेत्रमा विरोधी सक्रिय रहन सक्छन् र हाकिम्हरुबाट अपेक्षित सहयोग नपाउँदा नोकरी परिवर्तन गर्ने सोच आउन सक्छ। यस समयमा अनावश्यक खर्च बढ्न सक्ने भएकाले बचतमा असर पर्न सक्छ, खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ।

हप्ताको मध्य भागदेखि अवस्था क्रमशः सुधार हुँदै जानेछ। व्यापारमा अड्किएका काम अघि बढ्नेछन् र मनचाहेको लाभ प्राप्त हुन थाल्नेछ। परिश्रम अनुसार प्रतिफल मिल्ने भएकाले आत्मविश्वास बढ्नेछ। विद्यार्थी वर्गका लागि यो समय अनुकूल छ, परीक्षा तथा प्रतियोगितामा राम्रो नतिजा आउने सम्भावना छ। नेतृत्व वा सार्वजनिक क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई जिम्मेवारी र सम्मान बढ्ने योग देखिन्छ।

आर्थिक दृष्टिले हप्ताको अन्त्यतिर राहत मिल्नेछ। आम्दानीका नयाँ स्रोत खुल्न सक्छन् र पुराना आर्थिक समस्या क्रमशः समाधान हुनेछन्। घर–परिवारमा प्रेम, सहयोग र समझदारी बढ्नेछ। आफन्त र शुभचिन्तकसँग सुखद समय बिताउने अवसर मिल्नेछ। अविवाहित व्यक्तिको विवाह तय हुन सक्छ वा मनपरेको व्यक्तिसँग सम्बन्ध अगाडि बढ्न सक्छ। प्रेम सम्बन्धमा नजिकिँदो र वैवाहिक जीवनमा सन्तुलन रहनेछ। जीवनसाथीको स्वास्थ्यप्रति अलि सतर्क रहनु राम्रो हुनेछ।

समग्रमा, साना उतार–चढावका बाबजुद यो हप्ता मेष राशिका लागि प्रगति, सम्मान र सकारात्मक परिवर्तन ल्याउने खालको रहनेछ।

उपाय- हनुमान चालीसाको नियमित पाठ गर्नुहोस्।

वृष राशि

यो हप्ता मिश्रित फल दिने खालको रहनेछ । समय, धन र ऊर्जाको सही व्यवस्थापन आवश्यक छ । हप्ताको सुरुआतमा करियर वा व्यवसायसँग सम्बन्धित छोटो वा लामो यात्रा हुन सक्छ, जुन लाभदायक रहनेछ । प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ र लामो समयदेखि अड्किएको काम बन्ने सम्भावना छ।

हप्ताको मध्यतिर सन्तानसँग सम्बन्धित कुनै विषयले चिन्ता दिन सक्छ। व्यवसाय गर्नेहरूले कागजी काम अत्यन्तै सावधानीपूर्वक गर्नुपर्छ। भूमि वा घर खरिद गर्ने सोच छ भने राम्ररी कागजात जाँच गरेर मात्र निर्णय लिनुहोस्।

नोकरीपेशा गर्ने व्यक्तिका लागि हप्ताको उत्तरार्ध अलि चुनौतीपूर्ण हुन सक्छ। सरुवाको सम्भावनाले मानसिक तनाव दिन सक्छ। उच्च अधिकारीबाट अपेक्षित सहयोग नपाउँदा समस्या बढ्न सक्छ।

प्रेम सम्बन्धमा हतार नगर्नुहोस् र देखावटी व्यवहारबाट टाढा रहनुहोस्। दाम्पत्य जीवन सुखी बनाउन जीवनसाथीको भावनाको कदर गर्नुहोस्। हप्ताको सुरुमा छोटो दूरीको यात्रा हुन सक्छ । साझेदारीमा व्यापार सुरु गर्ने योग पनि देखिन्छ। दाम्पत्य सम्बन्ध राम्रो रहनेछ र कुनै मनोकामना पूरा हुन सक्छ। मंगलबार र बुधबार विशेष शुभ रहनेछन्।

गलत बानी नियन्त्रणमा राख्नुहोस्। विवाहेतर सम्बन्धबाट टाढा रहनुहोस्। खुट्टा र घुँडामा दुखाइ हुन सक्छ। राजनीति क्षेत्रमा रहनेले अलि सतर्कता अपनाउनु आवश्यक छ। हप्ताको अन्त्यतिर कार्यस्थलमा विवादको सम्भावना छ।

उपाय- दुर्गा चालीसा बिहान–साँझ पाठ गर्नुहोस्। यसले मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्नेछ।

मिथुन राशि

यो हप्ता मिथुन राशि हुनेहरुका लागि निकै व्यस्त, दौडधुप र मानसिक दबाबयुक्त रहने संकेत देखिन्छ। हप्ताको सुरुआतमा करियर वा व्यवसायसँग सम्बन्धित कुनै अचानक समस्या देखिनसक्छ, जसले चिन्ता बढाउन सक्छ। साथै घरायसी विषयले पनि मानसिक तनाव थप्ने सम्भावना छ।

कामकाजी महिलाहरूका लागि हप्ताको पहिलो भाग विशेष चुनौतीपूर्ण रहन सक्छ। घर र कार्यक्षेत्रबीच सन्तुलन मिलाउन कठिनाइ हुनसक्छ । नोकरीपेशा व्यक्तिले यो हप्ता अत्यन्त सतर्कता अपनाउनु आवश्यक छ । कुनै पनि काम अरूको भरमा छोड्नु हानिकारक हुनसक्छ । बोलेका शब्दहरू गलत अर्थ लाग्न सक्ने भएकाले सोचविचार गरेर मात्र कुरा गर्नु राम्रो हुनेछ।

यो हप्ता कार्यक्षेत्र मात्र होइन, व्यक्तिगत जीवनमा पनि अपेक्षित सहयोग र साथ शुभचिन्तक तथा नजिकका मित्रबाट कम मिल्न सक्छ। हप्ताको मध्यतिर अचानक ठूला खर्च आउन सक्छन्, जसले तपाईंको योजना बनाएको बजेट बिगार्न सक्छ। घरपरिवारका समस्या समाधान गर्ने क्रममा परिवारका सदस्यसँग मतभेद उत्पन्न हुन सक्छ। तर पिताको तर्फबाट तपाईंलाई नैतिक समर्थन प्राप्त भइरहनेछ।

प्रेम सम्बन्धको दृष्टिले यो हप्ता अलि कमजोर देखिन्छ। प्रेमी–प्रेमिकाबीच सहयोग र समझदारीमा कमी महसुस हुन सक्छ। भेटघाटमा पनि अवरोध आउन सक्छ। यद्यपि कठिन समयमा जीवनसाथी तपाईंको सबैभन्दा ठूलो सहारा बन्नेछन्।

यदि तपाईं नोकरी परिवर्तनको सोचमा हुनुहुन्छ भने यो हप्ता अनुकूल मानिन्छ। प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनेहरूको प्रदर्शन राम्रो हुन सक्छ। भाइ–बहिनीलाई आर्थिक सहयोग गर्दा मनलाई सन्तुष्टि मिल्नेछ। सहकर्मीहरू तपाईंप्रति भरोसायोग्य रहनेछन्। कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिको आम्दानी बढ्न सक्छ। धार्मिक गतिविधिप्रति रुचि बढ्नेछ। उच्च अधिकारीहरू तपाईंको कामबाट प्रसन्न रहनेछन्। साथीभाइ र आफन्तसँग मनका कुरा खुलेर राख्न सक्नुहुन्छ। नयाँ सम्पत्ति खरिद गर्ने सोच पनि बन्न सक्छ। हप्ताको अन्त्य विशेष रूपमा शुभ रहनेछ।

उपाय- प्रत्येक दिन नारायण कवचको पाठ गर्नु शुभ लाभदायक हुनेछ।

कर्कट राशि

यो हप्ता कर्कट राशिका जातकका लागि समग्रमा सफलता, सुख र सन्तुष्टि लिएर आउनेछ। हप्ताको उत्तरार्धका दुई दिन बाहेक बाँकी समय तपाईंको चाहनाअनुसार रहने संकेत छन्। हप्ताको सुरुआतमा नै कुनै लामो समयदेखि पर्खिरहेको शुभ समाचार प्राप्त हुन सक्छ, जसले घर–परिवारमा खुसीको माहोल सिर्जना गर्नेछ।

यो हप्ता करियर र व्यवसायमा गरेको मेहनतको राम्रो फल प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा पहिले गरेका प्रयासहरू सफल हुनेछन्। हप्ताको सुरुमा तपाईंको मन धार्मिक र सामाजिक कार्यतर्फ आकर्षित हुनेछ। घरमा कुनै शुभ वा मांगलिक कार्य सम्पन्न हुन सक्छ वा तपाईं कुनै धार्मिक कार्यक्रम, पूजा–अनुष्ठान वा तीर्थस्थल भ्रमणमा सहभागी हुन सक्नुहुन्छ।

आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर कर्क राशिका जातकले करियर र व्यापारमा मनचाहेको सफलता प्राप्त गर्नेछन्। नोकरीपेशा व्यक्तिको कार्यक्षेत्रमा मान–सम्मान बढ्ने योग छ। युवावर्गले यो हप्ता मनोरञ्जन र रमाइलोमा बढी समय बिताउन सक्छन्। तर हप्ताको उत्तरार्धतिर विद्यार्थीहरूको ध्यान पढाइबाट अलि हट्न सक्छ।
प्रेम सम्बन्धको कुरा गर्दा हप्ताको अन्त्यतिर सानो विषयलाई लिएर समस्या आउन सक्छ। प्रेमी–प्रेमिकाबीच मतभेद उत्पन्न हुन सक्छ। घरेलु विषयमा भावनामा बगेर निर्णय नगर्नु नै उत्तम हुनेछ।

यो हप्ता तपाईंको मनोबल अत्यन्त सकारात्मक रहनेछ। आर्थिक रूपमा तपाईं बलियो महसुस गर्नुहुनेछ। लक्ष्य प्राप्तिका लागि कडा मेहनत गर्नुहुनेछ र अधिकारीहरू तपाईंको कामबाट सन्तुष्ट रहनेछन्। उच्च शिक्षामा आइरहेका अवरोधहरू हट्ने संकेत छन्। जीवनसाथीले हरेक परिस्थितिमा साथ दिनेछन्। परिवारसँग कुनै पर्यटकीय स्थल भ्रमणको योजना बन्न सक्छ। नयाँ सोच र आइडियामा काम गर्न सक्नुहुन्छ। भविष्यका लागि ठोस योजना बनाउन उपयुक्त समय छ। घरमा पाहुना आउने सम्भावना पनि छ, जसले मनलाई आनन्दित बनाउनेछ।

उपाय- ॐ नम शिबाय दैनिक १०८ जप गर्नुहाेस् ।

सिंह राशि

यो हप्ता सिंह राशि हुनेहरुका लागि अत्यन्त शुभ, लाभदायक र उपलब्धिमूलक रहनेछ । अघिल्ला दिनहरूमा गरेको मेहनतको मीठो फल यसै हप्ता प्राप्त हुन सक्छ। ठूलो सफलता, पद–प्रतिष्ठा वा कुनै महत्वपूर्ण उपलब्धि हात लाग्ने प्रबल योग छ।

नोकरीपेशा व्यक्तिका लागि कार्यक्षेत्रमा नयाँ परिवर्तन देखिन सक्छन्। जिम्मेवारी बढ्न सक्छ र कुनै ठूलो तथा महत्वपूर्ण काम सुम्पिन सकिन्छ। सहकर्मी तथा वरिष्ठ अधिकारीहरू तपाईंको काम र अनुशासनबाट प्रभावित रहनेछन्। इष्ट मित्रहरूबाट सुख, सहयोग र समर्थन प्राप्त हुनेछ। लामो समयदेखि योजना बनाइरहेको काम सुरु गर्ने वा कुनै नयाँ योजनासँग जोडिने अवसर मिल्न सक्छ। यस विषयमा माता–पिताको विशेष साथ र आशीर्वाद प्राप्त हुनेछ।

यद्यपि आर्थिक मामिलामा सोचविचार गरेर मात्र निर्णय लिनु आवश्यक छ। कुनै पनि योजना वा व्यवसायमा पूँजी लगानी गर्दा आफ्नो आर्थिक अवस्था र परिस्थितिलाई ध्यानमा राख्नुहोस् । हप्ताको उत्तरार्धमा तपाईंको मान–सम्मान र प्रतिष्ठा अझ बढ्नेछ। विद्यार्थीहरूका लागि परीक्षा तथा प्रतियोगितामा मनचाहेको सफलता प्राप्त हुने योग छ।

प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ। पुराना मित्रहरूसँग भेटघाट हुने सम्भावना छ। परिवारसँग हाँसो–खुशी समय बिताउने अवसर मिल्नेछ, जसले मानसिक सन्तुष्टि दिनेछ।

हप्ताको सुरुआत विशेष रूपमा राम्रो रहनेछ। अड्किएका वा उल्झिएका कामहरू सहज रूपमा समाधान हुनेछन्। साथीभाइको सहयोगमा तपाईं सक्रिय रहनुहुनेछ। आफ्ना प्रियजनसँग समय बिताउँदा आन्तरिक आनन्दको अनुभव हुनेछ।

विवादहरू शान्त तरिकाले समाधान गर्न सक्नुहुनेछ। सरकारी कामकाज पनि सहज रूपमा सम्पन्न हुनेछन्। आफ्नो क्षमता र योग्यतामा विश्वास राख्नुहोस्। आर्थिक अवस्थामा उल्लेखनीय सुधार देखिनेछ। आइतबार र सोमबार नयाँ काम सुरु गर्न अत्यन्त शुभ रहनेछन्।

उपाय- प्रत्येक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् र “ॐ घृणि सूर्याय नमः” मन्त्रको जप गर्नु शुभ रहनेछ।

कन्या राशि

यो हप्ता कन्या राशि हुनेहरुका लागि मिश्रित रहनेछ । कहिले मन उत्साहित हुने त कहिले अलि निराशा महसुस हुनसक्छ। हप्ताको सुरुआतमा तपाईं निकै जोश र उत्साहका साथ काम सुरु गर्नुहुनेछ । सुरुका दिनहरूमा परिस्थिति तपाईंको पक्षमा रहनेछ र करियर तथा व्यवसायमा मनचाहेको सफलता र लाभ प्राप्त हुनेछ।

तर हप्ताको मध्यतिर केही काममा अड्चन र अलमल देखिन सक्छ। नोकरीपेशा व्यक्तिका लागि कार्यक्षेत्रमा विरोधी सक्रिय हुन सक्छन् र तपाईंलाई लक्ष्यबाट भड्काउने प्रयास गर्न सक्छन्। यद्यपि हाकिमहरुको सहयोग र मार्गदर्शनले अन्ततः तपाईं आफ्नो लक्ष्य समयमै पूरा गर्न सफल हुनुहुनेछ।

हप्ताको मध्यतिर स्वास्थ्य अलि कमजोर रहन सक्छ। मौसमजन्य रोगबाट जोगिनु आवश्यक छ। विद्यार्थी वर्गको ध्यान पढाइबाट अलि हट्न सक्छ। परीक्षा वा प्रतियोगितामा राम्रो नतिजा पाउन थप मेहनत र निरन्तर प्रयास गर्नुपर्नेछ।
प्रेम सम्बन्धमा प्रेमी–प्रेमिकाबीच साना–साना खट्टी–मिठा झगडा हुन सक्छन्, तर यसले सम्बन्ध बिगार्ने छैन। वैवाहिक जीवनमा पति–पत्नीबीच आपसी समझदारी, सुख र सद्भाव कायम रहनेछ। घरधन्दा सम्हाल्ने महिलाहरूको मन धार्मिक तथा आध्यात्मिक कार्यतर्फ आकर्षित हुनेछ।

समग्रमा यो हप्ता आनन्द र उत्साहका साथ बित्नेछ। परिवारमा हाँसो–ठट्टा र खुसीको वातावरण रहनेछ। कुनै शुभ समाचार प्राप्त हुन सक्छ, जसले घरका सदस्यहरू खुसी हुनेछन्। जीवनसाथीसँग खुलेर कुराकानी गर्दा पुराना गलतफहमीहरू हट्नेछन्। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। दाम्पत्य जीवनमा रोमान्स बढ्नेछ।

नवविवाहित जोडीले जेष्ठ सदस्यहरूप्रति आदर र प्रेम देखाउनेछन्। प्रशासन वा सरकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि कामको दबाब कम रहनेछ। आफ्नो टिम र आफ्ना मान्छेमाथि विश्वास राख्नुहोस्, सबैजना मन लगाएर काम गर्नेछन्। यो हप्ता धेरै दौडधुप गर्नु आवश्यक छैन। पर्याप्त आराम गर्नुहोस् र स्वास्थ्यमा ध्यान दिनुहोस्।

जिद्दी स्वभावका कारण केही मानिसले तपाईंको आलोचना गर्न सक्छन्। प्रभाव जमाउने नाममा असत्य बोल्नु हानिकारक हुन सक्छ, जसले प्रतिष्ठामा असर पुर्‍याउन सक्छ।

उपाय- प्रत्येक दिन गणपति अथर्वशीर्षको पाठ गर्नु शुभ फलदायी हुनेछ।

तुला राशि

यो हप्ता तुला राशिका जातकका लागि करियर, व्यापार र व्यक्तिगत जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालको रहनेछ। यो समय नयाँ प्रयोग, नयाँ सोच र नयाँ योजनामा केन्द्रित हुनका लागि उपयुक्त छ। तपाईंले गरेको प्रयास व्यर्थ जाने छैन, बरु त्यसको सार्थक र सफल परिणाम प्राप्त हुने प्रबल योग देखिन्छ।

हप्ताको सुरुआत विशेष गरी व्यवसायसँग सम्बन्धित व्यक्तिका लागि अत्यन्त शुभ रहनेछ। भाग्यले साथ दिने भएकाले व्यापारमा राम्रो लाभ हुनेछ। कुनै लाभदायक योजना वा प्रोजेक्टसँग जोडिने अवसर प्राप्त हुन सक्छ। यस समयमा भूमि, घर वा भवनको खरिद–बिक्रीबाट पनि फाइदा हुने सम्भावना छ।

नोकरीपेशा व्यक्तिहरू जसले लामो समयदेखि जागिर परिवर्तन गर्ने सोच बनाइरहेका थिए, उनीहरूलाई राम्रो संस्था वा प्रतिष्ठित ठाउँबाट आकर्षक प्रस्ताव आउन सक्छ। तर कुनै पनि ठूलो निर्णय लिनुअघि आफ्ना शुभचिन्तक वा अनुभवी व्यक्तिको सल्लाह अवश्य लिनु बुद्धिमानी हुनेछ।

हप्ताको मध्यतिर परिवारका कुनै सदस्यको विशेष सफलता वा उपलब्धिले घरमा खुसीको माहोल बन्नेछ। आफन्तहरूसँग हाँसो–खुसी समय बिताउने अवसर मिल्नेछ। यसले मानसिक सन्तुष्टि र आत्मिक आनन्द दिनेछ। हप्ताको उत्तरार्धमा आम्दानी बढ्ने योग बलियो देखिन्छ। जुन कामलाई तपाईंले पहिले कठिन ठानेका थिए, ती कामहरू पनि सहज रूपमा पूरा हुँदै जानेछन्।

प्रेम सम्बन्ध अझ गहिरो र नजिकिँदो हुनेछ। प्रेमी–प्रेमिकाबीच आपसी समझदारी र भावनात्मक नजिकिँदो बढ्नेछ। वैवाहिक जीवन सुखमय, सन्तुलित र प्रेमपूर्ण रहनेछ। जीवनसाथीबाट भावनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

यो हप्ता तपाईंका लागि करियरका नयाँ र राम्रो विकल्पहरू देखिन सक्छन्। व्यापार गर्नेहरूका लागि समय सामान्य भए पनि स्थिर रहनेछ। परिवारका सदस्यहरूसँग गम्भीर विषयमा छलफल हुन सक्छ, जसले भविष्यका लागि स्पष्ट दिशा दिनेछ। आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुनेछ। आफ्नो मनको कुरा प्रेमीजनसँग खुलेर राख्न सक्नुहुन्छ। राजनीतिसँग सम्बन्धित व्यक्तिहरूको मान–प्रतिष्ठा बढ्ने योग छ।

मित्रहरूबाट आवश्यक परेमा आर्थिक सहयोग पनि प्राप्त हुन सक्छ। परिवारको प्रगतिले मन प्रसन्न रहनेछ। तपाईंको सकारात्मक सोचका कारण अरू मानिसहरू पनि तपाईंप्रति आकर्षित हुनेछन्। नयाँ कुरा सिक्ने र आफूलाई अझ सक्षम बनाउने प्रयास गर्नुहुनेछ। विशेष गरी बिहीबारपछि समय अझ अनुकूल बन्दै जानेछ।

उपाय- प्रत्येक दिन दुर्गा चालिसाकाे पाठ गर्नुहोस्।

वृश्चिक राशि

यो हप्ता कार्यक्षेत्रमा प्रगति र मान–सम्मान दुवै प्राप्त हुने समय हो। यस सातामा तपाईंको काम गर्ने शैली, जिम्मेवारी र वातावरणमा केही महत्वपूर्ण परिवर्तन देखिन सक्छ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ र तपाईंले गरेका प्रयासहरूको राम्रो मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ र सहकर्मीहरूबाट सहयोग मिल्नेछ, जसले आत्मविश्वास बढाउनेछ।

यो हप्ता मित्र र परिवारजनको साथ र सहयोगले तपाईंलाई मानसिक रूपमा बलियो बनाउनेछ। आर्थिक पक्ष मजबुत हुँदै जाने संकेत देखिन्छ। धनलाभका योग क्रमशः बन्नेछन् र अचानक आर्थिक फाइदा हुने सम्भावना पनि छ। पुरानो लगानी वा रोकिएको रकम प्राप्त हुन सक्छ। व्यापार तथा क्रय–विक्रयसँग सम्बन्धित कामबाट राम्रो लाभ मिल्नेछ।

प्रेम सम्बन्धको कुरा गर्दा यो हप्ता प्रेम जीवन निकै रोमाञ्चक र मधुर रहनेछ। जीवनसाथी वा प्रेमी/प्रेमिकासँग भावनात्मक नजिकता बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ र परिवारसँग गुणस्तरीय समय बिताउने अवसर मिल्नेछ। हप्ताको अन्त्यतिर पुराना सम्झनाहरू ताजा हुनेछन्, जसले मनलाई आनन्द र सन्तोष प्रदान गर्नेछ।

कार्यक्षेत्रमा समान सोच र विचारधारा भएका व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापारमा संलग्न व्यक्तिहरूका लागि यात्राको योग पनि देखिन्छ, जसले भविष्यमा लाभ दिलाउन सक्छ। विद्यार्थीहरूका लागि यो हप्ता निकै अनुकूल रहनेछ र शिक्षामा राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। मिडिया, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा काम गर्ने व्यक्तिहरूका लागि समय विशेष रूपमा शुभ रहनेछ।

स्वास्थ्यको दृष्टिले तपाईं मानसिक रूपमा सबल रहनुहुनेछ। स्वास्थ्यप्रति सचेत रहँदै योग, व्यायाम वा कुनै स्वास्थ्यसम्बन्धी गतिविधितर्फ आकर्षण बढ्न सक्छ। तपाईं केही नयाँ र सकारात्मक कुरा सिक्ने प्रयास गर्नुहुनेछ। दृढ इच्छाशक्तिको कारण कठिन कार्यहरू पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। घरमा उत्सवजस्तै खुसीको वातावरण बन्ने संकेत पनि देखिन्छ।सम्पत्तिसम्बन्धी विवादलाई शान्तिपूर्ण संवाद र समझदारीबाट समाधान गर्ने प्रयास गर्नुहोस्। मधुमेह र रक्तचापका बिरामीहरूले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनु जरुरी छ। आफ्ना शुभचिन्तकहरूप्रति अविश्वास नगर्नुहोस्। अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक छ। कुनै पनि कागजातमा राम्रोसँग पढेर मात्र हस्ताक्षर गर्नुहोस्।

उपाय- प्रत्येक बिहान एकपटक गणेश अथर्वशीर्ष पाठ गर्नु लाभदायी हुनेछ ।

धनु राशि

यो हप्ता सौभाग्य, प्रगति र सकारात्मक परिणाम ल्याउने समय रहनेछ। यस हप्ता तपाईंको कामकाज र तपाईंले लिएका निर्णयहरूको खुलेर प्रशंसा हुनेछ। करियर र व्यापारमा गरेको मेहनतको राम्रो फल प्राप्त हुँदा तपाईंभित्र जोश, उत्साह र आत्मविश्वास उच्च रहनेछ।

व्यापारमा संलग्न व्यक्तिहरूले आफ्ना ग्राहकहरूका लागि नयाँ योजना वा अफर सुरु गर्न सक्नुहुन्छ, जसले राम्रो प्रतिक्रिया पाउनेछ। पर्यटन, ट्राभल वा विदेशसँग सम्बन्धित व्यवसाय गर्नेहरूका लागि रणनीतिमा परिवर्तन गर्दा लाभ मिल्ने योग छ। विदेशसँग सम्बन्धित काम गर्ने व्यक्तिहरूलाई विशेष फाइदा हुने संकेत देखिन्छ। हप्ताको उत्तरार्धमा विदेश यात्रा वा लामो दूरीको यात्राको सम्भावना पनि बन्न सक्छ।

नोकरीपेशा व्यक्तिहरूका लागि कार्यक्षेत्र निकै अनुकूल रहनेछ। हप्ताको अन्त्यतिर पदोन्नति वा नयाँ जिम्मेवारी पाउने शुभ समाचार मिल्न सक्छ। कार्यक्षेत्रमा पद र प्रतिष्ठा बढ्दा परिवारमा खुसीको वातावरण बन्नेछ। अदालत–कचहरीसँग सम्बन्धित पुराना समस्या समाधान हुने सम्भावना छ र फैसला तपाईंको पक्षमा आउन सक्छ। पैतृक सम्पत्ति प्राप्तिको योग पनि देखिन्छ।

पारिवारिक जीवन सुखद रहनेछ। परिजन र साथीहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। आमाबुबाको सम्मान र सेवामा ध्यान दिनु लाभदायी हुनेछ। सामाजिक सञ्जालमा तपाईं निकै सक्रिय देखिनुहुनेछ, जसले नयाँ सम्पर्क र अवसरहरू दिलाउन सक्छ।

प्रेम सम्बन्धमा न्यानोपन र नजिकपन बढ्नेछ। प्रेमी वा प्रेमिकाले तपाईंको मनोबल बढाउन ठूलो भूमिका खेल्नेछन्। वैवाहिक जीवनमा पनि आपसी समझदारीका साथ सुखद समय बिताउने अवसर प्राप्त हुनेछ। समझदारी र सूझबूझका कारण कठिन कामहरू पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ।

कुनै नातेदारको माध्यमबाट अप्रत्याशित लाभ मिल्न सक्छ।अपरिचित व्यक्तिहरूप्रति छिट्टै विश्वास नगर्नुहोस्। आवश्यक नभएको स्थानमा प्रतिक्रिया नदिनु बुद्धिमानी हुनेछ। केही मानिसहरूले हाँसो–ठट्टामा तपाईंको अपमान गर्न सक्छन्, त्यसैले अलि गम्भीर र संयमित रहनु उपयुक्त हुनेछ। खर्चमा नियन्त्रण राख्नुहोस् र व्यवहारमा सन्तुलन कायम गर्नुहोस्।

उपाय- प्रत्येक दिन ‘ॐ नमो नारायणाय’ को एक माला जप गर्नु लाभदायक हुनेछ।

मकर राशि

यो हप्ता शुभता, सौभाग्य र प्रगतिले भरिएको रहनेछ। लामो समयदेखि चाहेको रोजगारी, पद वा अवसरका लागि प्रयासरत हुनुहुन्छ भने यस हप्ता ती प्रयास सफल हुने सम्भावना प्रबल छ। हप्ताको पहिलो भागले तपाईंलाई धेरै चिन्ता र मानसिक बोझबाट मुक्त गराउनेछ। नोकरीपेशा व्यक्तिहरूलाई मनपर्ने पदोन्नति वा चाहेको स्थानमा सरुवा सम्बन्धी सुखद समाचार प्राप्त हुन सक्छ।

आर्थिक दृष्टिले यो हप्ता निकै मजबुत रहनेछ। व्यापार–व्यवसायमा राम्रो लाभ हुनेछ र आम्दानीका नयाँ स्रोतहरू खुल्ने संकेत देखिन्छ। हप्ताको मध्यतिर कुनै ठूलो व्यापारिक सम्झौता वा डिल सम्पन्न हुन सक्छ, जसले बजारमा तपाईंको विश्वास र प्रतिष्ठा बढाउनेछ। यद्यपि, यस अवधिमा स्वास्थ्यप्रति अलि सचेत रहनु आवश्यक छ। मौसमी रोग, थकान वा कमजोरी देखिन सक्छ, त्यसैले खानपान र दैनिकीमा विशेष ध्यान दिनुहोस्।

विद्यार्थीहरूका लागि यो हप्ता अत्यन्तै अनुकूल रहनेछ। पढाइमा मन लग्नेछ र परीक्षा तथा प्रतिस्पर्धात्मक तयारीमा राम्रो एकाग्रता रहनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुने योग छ। घर–परिवारमा प्रेम, समझदारी र सामञ्जस्य कायम रहनेछ। पारिवारिक वातावरण सुखद हुनेछ। प्रेम जीवन रोमान्टिक र सन्तोषजनक रहनेछ भने वैवाहिक जीवनमा पनि आपसी विश्वास र सुख बढ्नेछ।

करियरको दृष्टिले यो हप्ता मिश्रित तर महत्त्वपूर्ण रहनेछ। तपाईंको मेहनत र क्षमता माथिल्लो तहमा देखिन थाल्नेछ। सूर्य मकर राशिमा प्रवेश गरेपछि बास र वरिष्ठहरूबाट स्पष्ट नतिजाको अपेक्षा बढ्नेछ। जिम्मेवारीको बोझ यस हप्ता केही बढ्न सक्छ। प्रशासन, व्यवस्थापन, लेखा, इन्जिनियरिङ, निर्माण, सरकारी सेवा वा कर्पोरेट क्षेत्रमा कार्यरत महिलाहरूका लागि कामको चाप बढ्ने सम्भावना छ। काम बढी भए पनि त्यसको श्रेय अरूले लिन सक्ने हुँदा मानसिक तनाव महसुस हुन सक्छ। तर धैर्य, अनुशासन र निरन्तरता राख्नुभयो भने व्यवसाय गर्ने महिलाहरूले राम्रो वृद्धि देख्न सक्नुहुनेछ।

हप्ताको सुरुआत अत्यन्तै सकारात्मक रहनेछ। विद्वान र अनुभवी व्यक्तिहरूको संगत प्राप्त हुनेछ। लामो समयदेखि चलिरहेको तनावपूर्ण अवस्थाबाट छुटकारा पाउने योग छ। मेहनत गरेअनुसार कामहरू छिटो पूरा हुनेछन्। हप्ताभरि तपाईं प्रायः सकारात्मक सोच र उत्साहका साथ अघि बढ्नुहुनेछ। निजी सम्बन्धहरूमा मिठास बढ्नेछ।

कार्यक्षेत्रको वातावरण अनुकूल रहनेछ र सरकारी कामकाज सजिलै सम्पन्न हुनेछन्। सही खानपान र जीवनशैलीका कारण स्वास्थ्य पनि सामान्यतया राम्रो रहनेछ। अविवाहित व्यक्तिहरूका लागि राम्रो वैवाहिक प्रस्ताव आउन सक्छ।

दिखावटी खर्चका कारण अचानक अनावश्यक खर्च बढ्न सक्छ। मार्केटिङ, बिक्री वा जनसम्पर्कसँग जोडिएका व्यक्तिहरूले बढी मेहनत गर्नुपर्नेछ। धनको लेनदेन गर्दा पारदर्शिता अपनाउनु आवश्यक छ, नत्र गलतफहमी वा विवाद उत्पन्न हुन सक्छ। समग्रमा, संयम, अनुशासन र धैर्य अपनाएमा यो हप्ता मकर राशिका जातकहरूका लागि उन्नति र स्थायित्व दिने साबित हुनेछ।

उपाय- प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नुहाेस् ।

कुम्भ राशि

यो हप्ता समग्रमा सामान्य तर आत्ममन्थन गराउने रहनेछ। कार्यक्षेत्रमा तपाईंले आफ्नो कूटनीति, समझदारी र व्यवहारिक क्षमताको राम्रो परिचय दिनुहुनेछ। कर्मचारी तथा सहकर्मीहरूको कामप्रति तपाईं सन्तुष्ट देखिनुहुनेछ र तपाईंको नेतृत्व क्षमता पनि प्रकट हुनेछ। दिदी वा ठूला दाजुभाइबाट तपाईंप्रति विशेष खुशी र सहयोग प्राप्त हुन सक्छ। नोकरीपेशा व्यक्तिहरूलाई यस हप्ता महत्वपूर्ण जिम्मेवारी सुम्पिन सकिन्छ, जसले भविष्यमा पदोन्नतिको आधार तयार गर्नेछ। युवा जातकहरूका लागि करियरमा राम्रो अवसर र सफलता मिल्ने संकेत छ। सन्तान पक्षबाट सुख र सन्तोष प्राप्त हुनेछ।

आर्थिक पक्षमा हेर्दा, म्युचुअल फन्ड, शेयर बजार वा दीर्घकालीन लगानी गर्ने व्यक्तिहरूलाई राम्रो लाभ मिल्ने सम्भावना देखिन्छ। कानुनी विषय वा विवादमा संलग्न हुनुहुन्छ भने फैसला तपाईंको पक्षमा आउने योग बनिरहेको छ। दाम्पत्य जीवनमा नयाँ ऊर्जा र ताजगी महसुस हुनेछ, जीवनसाथीसँगको सम्बन्धमा समझदारी र नजिकपन बढ्नेछ।

तर हप्ताको सुरुआतमा स्वास्थ्य पक्ष केही कमजोर रहन सक्छ। विशेषगरी पाचन प्रणालीसम्बन्धी समस्या, ग्यास, अपच वा पेट दुखाइले सताउन सक्छ। तपाईं उत्साहमा आएर आवश्यकता भन्दा बढी मेहनत गर्ने बानीका कारण शरीर थकित बन्न सक्छ। त्यसैले एकैपटक धेरै काम गर्ने प्रयास नगरी, आफ्नो क्षमताअनुसार काम गर्नु उपयुक्त हुनेछ। अनावश्यक रूपमा शरीरलाई नथकाउने बानी बसाल्नुहोस्।

पारिवारिक विषयमा विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ। सानो कुरालाई ठूलो बनाउने वा भावनामा बगेर प्रतिक्रिया दिने प्रवृत्तिले समस्या बढाउन सक्छ। आफ्नो व्यवहार सरल, सहज र स्वाभाविक राख्नुहोस्। अरूको अगाडि राम्रो देखिने प्रयासमा आफ्नो मौलिकता गुमाउने सम्भावना छ, त्यसैले आफू जे हुनुहुन्छ त्यही रूपमा प्रस्तुत हुनु नै तपाईंका लागि लाभदायक हुनेछ।

यस हप्ता कुम्भ राशिका जातकहरूले करियर र व्यवसायमा गति त देख्नेछन्, तर आफ्नै प्रगति र लाभप्रति सन्तुष्ट हुन नसक्ने अवस्था बन्न सक्छ। विशेषगरी आफ्ना साथी सहकर्मीहरूको तीव्र प्रगति र आफू पछाडि परेको अनुभूति मानसिक चिन्ताको कारण बन्न सक्छ। कार्यक्षेत्रमा तपाईंलाई बेवास्ता गरेर कुनै जुनियरलाई महत्वपूर्ण जिम्मेवारी दिइँदा मन खिन्न हुन सक्छ। व्यवसाय गर्ने व्यक्तिहरू पनि व्यापारको अपेक्षित वृद्धि नदेखिँदा अलि चिन्तित रहन सक्नुहुन्छ।

हप्ताको पूर्वार्धमा व्यापारीहरूले पैसाको लेनदेन, कागजी कामकाज, सम्झौता वा दस्तावेजमा विशेष सावधानी अपनाउनु आवश्यक छ। यो समय अलि उतार चढावपूर्ण रहनेछ। समग्र हप्ता हेर्दा, दुई दिन अपेक्षाकृत राम्रो र दुई दिन केही कठिनाइपूर्ण रहने सम्भावना छ। साझेदारीमा व्यापार गर्नेहरूले पार्टनरमाथि आँखा चिम्लेर विश्वास नगर्नुहोस्, सबै कुरा स्पष्ट र लिखित रूपमा राख्नु राम्रो हुनेछ।

उपाय- हनुमान चालिसा दैनिक पाठ गर्नुहाेस् ।

मीन राशि

यो हप्ता अत्यन्त शुभ, उपलब्धिमूलक र सकारात्मक रहनेछ। करियर र व्यवसायका क्षेत्रमा तपाईंले सोचेकैभन्दा राम्रो सफलता र आर्थिक लाभ प्राप्त गर्नुहुनेछ। कार्यक्षेत्रमा तपाईंको काम गर्ने शैली, धैर्य र निष्ठाले सबैको ध्यान तान्नेछ। आश्चर्यजनक रूपमा, पहिल्यै विरोधी ठानिएका व्यक्तिहरूले समेत तपाईंको कार्यक्षमताको खुलेर प्रशंसा गर्नेछन् र आवश्यक सहयोग प्रदान गर्नेछन्।

वरिष्ठ अधिकारीहरू तपाईंको कामबाट प्रसन्न भएर महत्वपूर्ण जिम्मेवारी सुम्पिन सक्छन्, जसले तपाईंको पद, प्रतिष्ठा र आत्मविश्वास अझ बढाउनेछ।

व्यवसाय गर्ने व्यक्तिहरूका लागि यो हप्ता विशेष लाभदायी देखिन्छ। व्यापारमा राम्रो नाफा हुनेछ र थोक व्यापार, सप्लाइ, आयात–निर्यात वा वितरणसँग सम्बन्धित व्यक्तिहरूले अपेक्षाभन्दा बढी लाभ लिन सक्नेछन्। व्यवसायिक प्रयोजनका लागि गरिने यात्रा सुखद मात्र होइन, आर्थिक र भविष्यका दृष्टिले पनि फाइदाजनक हुनेछ। तर, कुनै नयाँ योजना, ठूलो लगानी वा साझेदारी सुरु गर्नु अघि आफ्ना शुभचिन्तक, अनुभवी व्यक्ति वा सल्लाहकारको राय लिनु बुद्धिमानी हुनेछ। लगानीका हिसाबले हप्ताको उत्तरार्ध विशेष रूपमा अनुकूल रहनेछ।

पारिवारिक जीवन अत्यन्त सन्तुलित र सुखद रहने संकेत छ। घर–परिवारमा आपसी प्रेम, समझदारी र सहयोगको वातावरण बन्नेछ। अविवाहित व्यक्तिहरूको विवाह सम्बन्ध पक्का हुन सक्छ भने सिंगल व्यक्तिहरूको जीवनमा मनपर्ने व्यक्तिको आगमन हुन सक्छ। पहिल्यै चलिरहेका प्रेम सम्बन्धहरू अझ गहिरा, विश्वासपूर्ण र स्थिर बन्नेछन्। दाजु–भाइ, दिदी–बहिनीसँगको सम्बन्ध मधुर रहनेछ र आपसी सहयोग बढ्नेछ। हप्ताको उत्तरार्ध पुराना मित्रहरूसँग भेटघाट, कुराकानी र स्मृतिहरू ताजा गर्दै बित्ने सम्भावना छ, जसले मनलाई आनन्दित बनाउनेछ।

करियर र बौद्धिक पक्षमा पनि यो हप्ता उत्कृष्ट रहनेछ। तपाईं आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाउन सक्नुहुन्छ। गूढ विषय, आध्यात्मिक ज्ञान, अनुसन्धान वा दर्शनसम्बन्धी विषयमा विद्वान व्यक्तिहरूसँग गहिरो छलफल हुन सक्छ। समय उपलब्धि, सम्मान र पहिचान दिलाउने खालको रहनेछ।

उच्च शिक्षाको चाहना राख्ने विद्यार्थीहरूलाई राम्रो शैक्षिक संस्थानमा प्रवेशको अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको प्रभाव र दबदबा बलियो हुनेछ। विदेशसँग सम्बन्धित काम, अध्ययन वा यात्राका योग पनि देखिन्छन्। नोकरीपेशा व्यक्तिहरूका लागि कार्य वातावरण अनुकूल रहनेछ र उच्च अधिकारीहरूले तपाईंको सुझाव र विचारलाई विशेष महत्व दिनेछन्। समाजमा तपाईंको विशिष्ट पहिचान र प्रतिष्ठा अझ मजबुत बन्नेछ।

यद्यपि, हप्ताको सुरुआत केही कमजोर महसुस हुन सक्छ। तपाईं आफ्नै क्षमताको सही मूल्याङ्कन गर्न नसकी अलि द्विविधामा पर्न सक्नुहुन्छ। शारीरिक र मानसिक थकानबाट बच्न समयमै विश्राम लिनु अत्यन्त आवश्यक हुनेछ। भूमि, घर वा सवारी साधन खरिदका लागि ऋण लिने सोच बनाउँदै हुनुहुन्छ भने अनुभवी र समझदार व्यक्तिसँग राम्रोसँग छलफल गरेर मात्र निर्णय लिनुहोस्।

दाम्पत्य जीवनमा अहंकारलाई स्थान नदिनुहोस्, सानो कुरा ठूलो विवादको कारण बन्न सक्छ। बाहिरी व्यक्तिको अनावश्यक हस्तक्षेपले तपाईंका काम बिग्रन सक्ने भएकाले आफ्ना निजी र व्यावसायिक निर्णयमा गोपनीयता र सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

उपाय- प्रत्येक दिन ॐ मणि पद्मे हुम् वा नारायण मन्त्र जाप गर्नु लाभदायक हुनेछ।

Skip This
Skip This
Logo