काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक निर्वाचनबाट आफ्नो पार्टी कहिल्यै नभाग्ने स्पष्ट गर्दै निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरण सुनिश्चित नभएसम्म निर्वाचनको मूल मर्म पूरा नहुने बताएका छन् ।
शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ गते प्रस्तावित आम निर्वाचनका सन्दर्भमा सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाएका हुन् । उनले निर्वाचनको मूल सार नै निर्भयताको वातावरण भएको उल्लेख गर्दै वर्तमान अवस्थाले त्यो सुनिश्चित नगरेको जिकिर गरे ।
भदौ २४ गते भएको विध्वंसपछि भगाइएका कैदीमध्ये पाँच हजारभन्दा बढी अझै बाहिरै रहेको, लुटिएका आधुनिक हतियारमध्ये सात सयभन्दा बढी हतियार र हजारौँ राउण्ड गोली फिर्ता नभएको तथा सुरक्षा निकायको मनोबल थप कमजोर बनाइँदै गएको अवस्थाले भयरहित निर्वाचन सम्भव नहुने उनको भनाइ थियो। भदौ २४ को घटनामा संलग्न र त्यसपछि पनि विभिन्न अपराधमा लागेकाहरूमाथि अनुसन्धान, तहकिकात र अभियोजन गर्न सरकारले अवरोध सिर्जना गरिरहेको आरोप समेत अध्यक्ष ओलीले लगाए ।
उनले एमालेले सार्वजनिक रूपमा र सरकारका प्रतिनिधिसँगको वार्तामा पनि बारम्बार यी विषय उठाउँदै आएको भए पनि अझैसम्म निर्वाचनको सुनिश्चित र निर्भय वातावरण नबनेको बताए ।
यद्यपि अध्यक्ष ओलीले ढिलो–चाँडो मुलुक निर्वाचनमा जाने कुरामा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहनुपर्ने धारणा राखे । केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उनले जानकारी दिए।
उम्मेदवार छनोटका सन्दर्भमा अध्यक्ष ओलीले नेकपा (एमाले) का तर्फबाट तोकिएकै समयमा समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकिएको जानकारी दिए । पार्टीमा उम्मेदवार बन्न योग्य, समेट्नुपर्ने र भूमिका खेल्न सक्ने व्यक्तिहरू धेरै भए पनि तोकिएको १ सय १० को सीमा, समावेशी क्लस्टर संरचना र भौगोलिक सन्तुलनका कारण सबै पक्ष पूर्ण रूपमा समेट्न कठिन भएको उनले स्वीकार गरे । कतिपय विषयमा ध्यान नपुगेको हुन सक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा यस विषयमा अझ व्यवस्थित गृहकार्य गरिने बताए ।
त्यसैगरी प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले यस क्रममा केही गुनासो देखिएको स्वीकार गरे । केही ठाउँमा ‘एकल सिफारिस’ का नाममा इच्छुक आकाङ्क्षीहरूसँग पर्याप्त परामर्श नगरिएको र कतिपय मातहत कमिटीहरूले तलैबाट सहमति गर्ने प्रयास नगरी धेरै नाम केन्द्रमा पठाएको अवस्थाप्रति उनले ध्यानाकर्षण गराए।
अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पारे । निर्णय भइसकेपछि आकाङ्क्षीहरू सहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उनको जोड थियो।































प्रतिक्रिया