काठमाडौँ
संघीय समाजवादी फोरम नेपालका १५ जना नेताहरु आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा फोरमका सात सांसद र आठ केन्द्रीय सदस्य त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा जाने सात सांसद मध्ये ४ जना प्रतिनिधिसभा, दुईजना प्रदेशसभा र एकजना राष्ट्रियसभाका छन् ।
फोरमको १५ सदस्यीय टोलीको नेतृत्व उपाध्यक्ष रेणु यादवले गर्ने छिन् । प्रतिनिधिसभा सदस्यहरु रेणु यादव, प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यद्वय जयराम यादव र रणध्वज लिम्बु तथा राष्ट्रियसभा सदस्य रामप्रीत पासवान चीन जाने तय भएको छ । त्यस्तै केन्द्रीय सदस्यहरू अर्जुन थापा, सञ्जय सिंह, भूराज राई, रामआशिष यादव, शेष नारायण यादव, दिनेश कुमार यादव र मिलनकुमार यादव चीन जाँदै छन् । टोलीको नेतृत्व गर्दै चीन जान लागेकी पार्टी उपाध्यक्ष यादवले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चुनाव अघि नै आएको बताइन् । उनले भनिन्, ‘चुनावमा व्यस्त हुनु परेकाले त्यतिबेला जान सकेनौं । अहिले जान लागेका हौं।’
मधेस केन्द्रित दललाई चीनले प्राथमिकतामा राखेको उनले बताइन् । भ्रमणका क्रममा टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, चीन सरकारका मन्त्री, बेइजिङ महानगरपालिकाका प्रमुखसँग भेट गर्ने कार्यक्रम छ । सातदिने भ्रमणका लागि निस्किने टोली गोन्जाउ, गुल्याङ हुँदै बेइजिङ पुग्नेछ । टोलीमा सहभागी हुन लागेका सांसद प्रदीप यादवले भने, ‘चीनले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको देखिएको छ ।’
नागरिकबाट































प्रतिक्रिया