काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा फेरि एक निर्णायक तथा तनावपूर्ण घडी आएको छ । यतिबेला भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा दोस्रो विशेष महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ । यो महाधिवेशन पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा आधारित छ र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा बाध्यकारी विकल्पका रूपमा अघि बढेको हो ।
यो विशेष महाधिवेशनको सबैभन्दा चर्चित पक्ष भनेको लामो समयदेखि सभापति शेरबहादुर देउवाको संस्थापन पक्षसँग नजिक रहेका प्रभावशाली तथा वरिष्ठ नेताहरूको पनि क्रमशः गगन–विश्व पक्षमा खुल्न थालेका छन् । यसले पार्टीभित्रको असन्तुष्टि अब संस्थापनभित्रै गहिरो रूपमा फैलिएको स्पष्ट सङ्केत दिएको छ ।
यतिबेला देउवा निकटका प्रमुख नेताहरू विशेष महाधिवेशनमा सहभागी तथा समर्थक बनेका छन् । पूर्वउपसभापति तथा वरिष्ठ नेता गोपालमान श्रेष्ठ, देउवासँग दशकौँसम्म सँगै रहेका व्यक्ति हुन् । श्रेष्ठले विशेष महाधिवेशनको पक्षमा खुलेर समर्थन जनाएका छन् । त्यस्तै संस्थापन पक्षकी अर्की नेतृ पूर्वमन्त्री पुष्पा भुसाल पनि भृकुटीमण्डप पुगेर सक्रिय सहभागी भएकी छन् ।
त्यस्तै, तारामान गुरुङ, डा. डिला संग्रौला, विनोद चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, राजन केसी, यी सबै देउवा समूहका परिचित तथा प्रभावशाली अनुहारहरू हुन्, जसले यतिबेला महाधिवेशनलाई साथ दिएका छन् ।
पूर्वसभामुख तारानाथ रानाभाट र देउवाका पूर्वस्वकीय सचिव कर्ण मल्ल जस्ता व्यक्तित्वहरू पनि महाधिवेशन स्थलमा उपस्थित भएका छन् ।
अहिले यी नेताहरूको साथले स्पष्ट हुन्छ कि पार्टीभित्रको नेतृत्व परिवर्तनको माग अब संस्थापन पक्षका ठूलो हिस्साबाटै उठेको छ । आयोजकहरूका अनुसार महाधिवेशनमा करिब ६० प्रतिशत प्रतिनिधिको सहभागिता हुने अनुमान छ ।































प्रतिक्रिया