३ वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वमा प्रचण्डको नजर

३ वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वमा प्रचण्डको नजर

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र बनेको छ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम १० जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारका लागि सिफारिस भएको छ । १० वर्ष जनयुद्ध लडेर शान्ति प्रक्रियामा आएपछि ५ ठाउँबाट चुनाव लडेका प्रचण्ड यो पटक १० जिल्लाका ११ निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं–१० बाट विजयी भएका उनी २०७० मा सिरहा र काठमाडौं–१० बाट चुनाव लडेका थिए । सिरहाबाट चुनाव जिते पनि काठमाडौंमा उनी तेस्रो भए । २०७४ सालमा नेकपा एमालेसँग एकता गरी चितवनबाट चुनाव लडे भने २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए ।

२०६४ यता कुनै पनि निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव नलडेका प्रचण्ड १० निर्वाचन क्षेत्रबाट सिफारिस भएका क्षेत्रमध्ये कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

नेपाली राजनीतिमा यतिका धेरै स्थानबाट सिफारिस हुने प्रचण्ड नै पहिलो व्यक्ति हुन् । भर्खरै मात्र नेकपा समाजवादीसँग पार्टी एकता गरेका प्रचण्डले पार्टीभित्र आफ्नो लोकप्रियता कायम रहेको सन्देश दिनका लागि पनि यस्तो गरेको हुनसक्ने राजनीतिक वृत्तमा र स्वयं उनकै पार्टीमा समेत चर्चा हुने गरेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो अभ्यास नितान्त नौलो होइन । प्रचण्डको विगतको निर्वाचन इतिहास हेर्दा पनि त्यस्तै देखिन्छ । बदल्दै जित्दै आएका छन् । प्रचण्डले पाँचौँपल्ट चुनाव क्षेत्र फेर्दैछन् ।

‘प्रचण्ड’लाई आगामी निर्वाचनका लागि देशका विभिन्न ११ निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । उनलाई रोल्पा, महोत्तरी–४, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, गोरखा–१ र २, कैलाली–३ तथा सुनसरी–४, कालीकोट र रुकुमपूर्वबाट सिफारिस गरिएको हो ।

२१ फागुनमा हुने चुनावमा बलियो बन्न उनले माधव नेपालको एकीकृत समाजवादीसहित विभिन्न साना दललाई मिसाएर माओवादी केन्द्रलाई नेकपामा रूपान्तरण गरेका छन् । प्रचण्ड रुकुमपूर्व चुनाव लड्ने तयारीमा छन् । तत्कालीन माओवादीको आधार इलाका हो, जहाँ उनको पार्टीको जनाधार तुलनात्मक रूपमा बलियो देखिन्छ ।

जनयुद्धको ऐतिहासिक आधारभूमि रुकुमपूर्वमा यस पटक प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभावकको छिमेकी जिल्ला हो रुकुमपूर्व ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कैलाश मल्लले ५ हजार २११ मत ल्याएका थिए । त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८९६ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४६४ र नेसनलिस्ट पिपुल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो ।

तीनवटा मात्र स्थानीय तह—पुथा उत्तरगंगा गाउँपालिका, भूमे गाउँपालिका र सिस्ने गाउँपालिका—रहेको रुकुमपूर्वका सबै स्थानीय तहहरू माओवादीले जितेकाले सुरक्षित क्षेत्र खोज्दै प्रचण्ड त्यहाँ पुगेको बुझिन्छ । ३ वटा स्थानीय तहका ३१ वटा वडामध्ये २३ वटा वडा माओवादीले जितेको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुनीराज घर्ती ३,९१३ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरलाई १,८०० मतान्तरले पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उम्मेदवार भुपेन्द्रा बुढा ४,०५९ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार कमलाकुमारी मल्लले २,०१० मत ल्याएकी थिइन् । यो गाउँपालिकाको १४ वटा वडामध्ये ११ वटा माओवादीले जित निकालेको छ ।

भूमे गाउँपालिका अध्यक्षमा (माओवादी केन्द्र) कै होमप्रकाश श्रेष्ठ ३,९७५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार रतनबहादुर बुढालाई ३,४७२ मतान्तरले पराजित गरेका हुन् । यस्तै उपाध्यक्षमा (माओवादी केन्द्र) की उम्मेदवार सविना बुढा ३,९५१ मतसहित विजयी भएकी थिइन् । ९ वटा वडा रहेको यस पालिकामा ७ वटा वडा माओवादीले जितेको छ ।

सिस्ने गाउँपालिका अध्यक्षमा (माओवादी केन्द्र) का कृष्ण रेग्मी ३,७७९ मत ल्याई विजयी हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३,७०० मत ल्याएका थिए । ८ वटा वडा रहेको यो पालिकामा ४ वटा वडा माओवादीले जितेको छ । सोही तथ्यांकको आधारलाई हेरेर प्रचण्ड यो क्षेत्र पुगेका हुन् ।

अहिले रुकुमपूर्वमा २९ हजार २६७ मतदाता छन् । तीन वटा गाउँपालिका मात्र रहेको रुकुमपूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभापछि प्रचण्ड थप उत्साहित देखिएका छन् । पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपालि जित हात लाग्छ कि लाग्दैन, त्यो हेर्न २१ फागुनको नतिजासम्म कुर्नु पर्नेछ ।

Skip This
Skip This
Logo