काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीकै बीच समानुपातिक उम्मेदवारको सूचिमा ठुलो हलचल देखिएको छ । विभिन्न दलबाट दर्ता गरिएका १६४ जनाले एकैचोटि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि समानुपातिक प्रणालीमार्फत संसद् प्रवेश गर्ने समीकरण फेरिएको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने क्रम सबैभन्दा धेरै मधेस केन्द्रित दलमा देखिएको छ । दल एकता, आन्तरिक समायोजन र रणनीतिक सूची व्यवस्थापनका कारण नाम फिर्ता गरिएको आयोग स्रोतको बुझाइ छ ।
सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सूचीबाट हटेका छन् । लोसपाबाट ७८ जना र जनता समाजवादी पार्टी नेपालबाट २१ जनाले नाम फिर्ता लिएका छन् । यी दुई दलबीच औपचारिक एकता भइसकेकाले पुरानो सूची समायोजन गर्दै नयाँ संरचना अनुसार नाम पुनः व्यवस्थापन गरिएको हो ।
त्यस्तै, जनमत पार्टीका २० जना उम्मेदवारले नाम फिर्ता लिएर सूची पुनः मिलाउने प्रक्रिया सुरु गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनादेश पार्टी, एमाले, माओवादी केन्द्रलगायत अन्य दलका उम्मेदवार पनि सूचीबाट हटेका छन् ।
निर्वाचन आयोगले फिर्ता भएका नामको स्थानमा नयाँ उम्मेदवार पठाउन दलहरूलाई निर्देशन दिएको छ । आयोगले माघ ४ गते संशोधित बन्दसूची सार्वजनिक गर्ने तयारी गरेको छ ।
संशोधित सूची सार्वजनिक भएपछि दाबी–विरोधका लागि माघ ५ देखि १० गतेसम्म समय दिइनेछ । उजुरीमाथि अध्ययनपछि आवश्यक परे सूची संशोधन गर्दै माघ २० गते अन्तिम समानुपातिक उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा २७५ सदस्य निर्वाचित हुनेछन् । तीमध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था छ । प्रत्यक्षतर्फको मनोनयन प्रक्रिया भने माघ ६ गते सुरु हुनेछ ।
समानुपातिक सूचीमा देखिएको यो ठुलो परिवर्तनले चुनावी गठबन्धन, दलभित्रको शक्ति सन्तुलन र संसद् प्रवेश गर्ने अनुहारमा समेत ठुलो प्रभाव पार्ने देखिएको छ ।































प्रतिक्रिया